विराटनगर, १५ चैत । सदभावना पार्टीको १५, १६ र १७ गते चल्ने राष्ट्रिय कार्य समितिको बिस्तारित बैठक आज अतिथि सेवा सदन बिराटनगरमा सुरू हुँदैछ ।
बैठकमा राष्ट्रिय कार्यसमिति, राष्ट्रिय सल्लाहाकार समिति, अनुशासन समिति, संसदीय समिति, संगठन बिभाग, बिभिन्न वर्गिय मंच र बिभागका केन्द्रीय अध्यक्षहरू, जिल्ला अध्यक्षहरू लगायत ५५० जना सहभागी हुने सदभावना पार्टीका केन्द्रीय सदस्य उपेन्द्र महतोले जानकारी गराउनुभयो ।
बैठकमा समसामयिक राजनीतिक परिस्थिति, आसन्न मधेश आन्दोलन तथा पार्टीको भावी कार्य योजना, संगठन समिक्षा तथा बिस्तार, पार्टी राष्ट्रिय महाधिवेशन, बर्गीय मंचको सम्मेलनर अधिवेशन लगायत बिषयमा छलफल हुने सदभावना पार्टीका सहमहासचिव राजकुमार गुप्ताले जानकारी गराउनु भयो ।
बिगतको आन्दोलनमा सक्रियरूपले खट्दै सबै जिल्ला पुगेका पार्टी अध्यक्ष राजेन्द्र महतोले सबै जिल्लाका नेताहरूलाई जिल्लामा आन्दोलनको क्रममा भएको कमिकमजोरीहरूबारे स्पष्टीकरण लिने र बैशाख देखि हुने निर्णायक आन्दोलनमा प्रमुख दल र सरकारलाई घेर्न बिषेश रणनिती बनाउनुको साथै पार्टीको सम्पूर्ण शक्ती प्रयोग गर्न पार्टी नेताहरूलाई निर्देशन दिने पनि श्रोतको दाबी छ ।
बैठकमा सहभागीहरूको खाने बस्ने सम्पूर्ण तयारी पुरा भईसकेको पार्टीका स्थानीय नेता तथा केन्द्रीय सदस्य दिलिप धाडेवाले बताउनुभयो । बैठकमा सहभागी हुन पार्टीका राष्ट्रिय अध्यक्ष राजेन्द्र महतो हिजो नै बिराटनगर आईपुगेको र अन्य सहभागीहरूको आउने क्रम जारी रहेको पार्टीका मोरंग जिल्ला अध्यक्ष चन्द्र प्रसाद राजबंशीले जानकारी गराउनुभयो ।













प्रतिक्रिया