१ कार्तिक २०८३, शनिबार

सरकारलाई सहयोग गर्ने म्यानमारका सैनिक प्रमुखको प्रतिबद्धता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Manmar-army-chiefनेपित्व, १४ चैत । म्यानमारका सैनिक प्रमुख जर्नेल मिन आङ हलिङले म्यानमारको नयाँ सरकारलाई आवश्यक सरसहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

सेना प्रमुखले म्यानमारमा यतिखेर सेनाबाट नागरिक सरकारमा शक्ति हस्तान्तरणका लागि सकारात्मक प्रयासहरु भएका भन्दै नयाँ सरकारलाई सेनाले सहयोग गर्ने बताउनुभयो ।

म्यानमारको ७१ औँ सशस्त्र दिवसका अवसरमा राजधानी नेपित्वमा आइतबार आयोजित एक सैनिक परेड समारोहलाई सम्बोधन गर्दै उहाँले सो धारणा राख्नुभएको समाचारमा जनाइएको छ ।

म्यानमारमा प्रजातन्त्रको कार्यान्वयनका लागि मुख्य दुईवटा ब्यबधान रहेका उल्लेख गर्दै भन्नुभयो, नागरिक अनुशासनमा कमी हुनु र नियम कानुनको कार्यान्वयनको कमी तथा सशस्त्र समूहहरुको उपस्थिति नै यसका प्रमुख ब्यबधान हुन् ।

उहाँले सैनिकले जनताको सुरक्षा, देशको रक्षा र सरकारलाई सहयोग गर्ने भन्दै विकासका कामहरुको कार्यान्वयनका लागि पनि सैनिकको मुख्य दायित्व छ भन्नुभयो ।

म्यानमार दशकौँपछि पहिलो पटक नागरिक सरकार निर्माण भएको छ । गएको वर्ष नोभेम्बर ८ मा भएको आमनिर्वाचनबाट त्यहाँको मुख्य प्रजातान्त्रिक दल नेशनल लिग फर डेमोक्र्यासीले बहुमत हासिल गरेको थियो ।

सोही दलले नै म्यानमारमा नयाँ राष्टपति र नयाँ सरकार निर्माण गर्ने अवसर पाएको हो ।

म्यानमारको राष्टपतिमा गत हप्तामात्र उ टिन च्यो निर्वाचित हुनुभएको छ । उहाँ उक्त दलको नेता हुनुहुन्छ । नेशनल लिग फर डेमोक्र्यासीकी नेत्री आङ सान सुकीको दल हो ।

राष्टपति च्योको नेतृत्वमा सरकार निर्माण हुने भएको हो । आगामी बुधबार राष्टपति र नयाँ मन्त्रीहरुको सपथ हुने भएको छ ।

म्यानमारको संसदमा सेनाको पनि उपस्थिति हुने गर्दछ । म्यानमारको संसदमा कम्तीमा पनि एक चौथाई सांसद सेनाको तर्फबाट प्रतिनिधित्व गर्ने गर्छन् ।

सैन्य प्रमुखले म्यानमारमा शान्ति तथा प्रजातन्त्रको स्थापनामा सैनिकको पनि महत्वपूर्ण योगदान रहेकोे धारणा राख्नुभयो ।

उहाँले भन्नुभयो, म्यानमारमा गएको अक्टोबर महिनादेखि सुरु भएको युद्धविरामको पालनाका साथै गएको नोभेम्बरमा आमनिर्वाचनका समयमा पनि सेनाले ठूलो योगदान पुराएको छ । रासस/एपी