काठमाडौं, १४ चैत । कुटनीतिक मर्यादा नाघेर खुलेयाम नेपालविरुद्ध बोलिरहेका भारतीय राजदूत रञ्जीत रेलाई फिर्ता पठाउन सत्तारुढ दल नेकपा एमालेकै नेताहरुले अभियानको थालनी गरेका छन् ।
उनीहरुले पार्टी नेतृत्व र अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमाथि दबाब सिर्जना गर्दै मर्यादामा नबस्ने राजदूत रेलाई फिर्ता पठाउन आवाज उठाएका हुन् ।
यसक्रममा एमालेका पोलिटब्यूरो सदस्य शंकर पोखरेल, प्रचार विभाग उपप्रमुख सूर्य थापा र युवा संघ नेपालका अध्यक्ष राजीव पहारीले राजदूत रेलाई सुध्रिन चेतावनी दिँदै मर्यादामा नबसे फिर्ता पठाउन सरकारसँग माग गरेका छन् ।
मधेसवादी दलका नेतालाई बोलाएर ‘आन्दोलनमा भारतले जस्तोसुकै सहयोग गर्छ’ भन्ने भारतीय राजदूतलाई एमाले नेता पोखरेलले ‘छिमेकमा डढेलो लगाएर आफ्नो बस्ती उज्यालो बनाउने रहर महामहिमलाई निकै जागेछ । डढेलोले छिमेक मात्र होइन महामहिमकै बस्ती डढाउन सक्छ । होस् गरौ ।’ भनेका छन् । उनले कुटनीतिक मर्यादाको हेक्का राख्न पनि रेलाई सुझाव दिए ।
प्रधानमन्त्री ओलीको भ्रमणका क्रममा नेपालले चीनसँग महत्वपूर्ण सम्झौता गरेपछि काठमाडौंमा सक्रिय हुँदै सरकार ढाल्नेसम्म गतिविधी गरिरहेका भारतीय राजदूत रेले कांग्रेसका सभापति शेरबहादुर देउवादेखि मधेसवादी दलका नेतासम्म चहारिरहेका छन् ।
उनको यस्तो गतिविधीपछि एमाले नेताहरुले उनलाई फिर्ता पठाउन आवाज उठाएका हुन् । यसक्रममा नेकपा एमालेका अर्का नेता सूर्य थापाले पनि मर्यादामा नबस्ने भारतीय राजदूत रेलाई तुरुन्त फिर्ता पठाउनुपर्ने बताएका छन् ।
दैनिक नेपालसँग कुराकानी गर्दै उनले भने- ‘मैलै पहिलेदेखि भन्दै आएको छु । उनी कुटनीतिक मर्यादामा बसेनन् । लैनचौरमा बसेर राजनीतिक गर्ने र नेपालमा उत्पात गर्न उनले ओहदाको प्रमाणपत्र पक्कै लिएका होइनन् । कुटनीतिक मर्यादामा नबस्ने उनलाई कानुन बमोजिम परराष्ट्र मन्त्रालयले स्पष्टिकरण सोध्नुपर्छ । नभए फिर्ता पठानुपर्छ । नेपालमा छु भन्ने अनुभुति उनलाई हुनुपर्यो । मर्यादामा नबसेर स्वच्छेचारी, मनपरी र आफू जून देशमा आएको छु त्यही देशविरुद्ध गतिविधी गर्ने अधिकार उनलाई छैन् ।’
तपाईले पहिला पनि फिर्ता गर्नुपर्छ भन्नुभएको थियो, त्यो त अहिले सान्दर्भिक देखियो भन्ने प्रश्नमा उनले अगाडि भने– ‘बीचमा केही सुध्रिनुभएको हो की भन्ने देखिए । तर, अहिले अवस्था झन उग्र भयो । मधेसी दलका नेतालाई बोलाएर मन्त्राणा दिने उनको काम होइन, त्यो काम राज्यको हो, राज्यले सम्बोधन गर्छ ।’
उनले कुनै पनि देशको राजदूतले कुटनीतिक मर्यादामा बस्नुपर्ने भन्दै मर्यादा उल्लंघन गर्नेलाई फिर्ता पठाउनुपर्ने र नेपाल सरकारले त्यो हिम्मत राख्नुपर्ने धारणा राखे ।
उनले यसविषयमा प्रधानमन्त्री, सरकार र पार्टीको ध्यानाकर्षण गराउने काम गरेको जनाए ।
यसैगरी युवा संघ नेपालका अध्यक्ष राजीव पहारीले नेपालमा स्थिरता र शान्ति हुन नदिने भारतीय राजदूत रेलाई तुरुन्त देशनिकाला गर्नुपर्ने बताए । उनले भने- ‘नेपालमा स्थिरता र आतंक मच्चाउने भारतीय राजदूतले नेपाल छाड्नुपर्छ । देशद्रोही काम गरेकाले नेपाल छोडाउनुपर्छ । राजद्रोहको मुद्दा लगाएर देशनिकाला गर्नुपर्छ ।’
राजदूत रेले विगतदेखिनै कुटनीतिक सीमा नाघ्दै आएको भन्दै प्रधानमन्त्री स्वदेश फर्किएपछि ध्यानाकर्षण गराउने उनको भनाई छ ।
यसैगरी उपप्रधान तथा महिला तथा बालबालिकामन्त्री सिपी मैनालीले पनि भारतीय राजदूतले कुटनीतिक मर्यादा नाघेको भन्दै प्रधानमन्त्रीसँग छलफल गर्ने बताएका छन् ।
नेताहरुसँगै आम नागरिकले पनि भारतीय राजदूतलाई तुरुन्त देशनिकाला गर्न माग गरेका छन् ।













प्रतिक्रिया