काठमाडौं, १४ चैत । नेपाली कांग्रेस निकट लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमले नवनिर्वाचित सभापति शेरबहादुर देउवासहितका पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई बधाइ दिएको छ ।
काठमाडौंको एक पार्टी प्यालेसमा भएको मदिरासहितको खानपान कार्यक्रममा कांग्रेस निकट म्यानपावर व्यवसायीहरूले बधाइ तथा शुभकामना दिएका हुन् ।
शनिबार मध्यरातिसम्म भएको सो कार्यक्रममा सभापति पदमा पराजित रामचन्द्र पौडेल निकटका प्रभावशाली नेता रामशरण महत पुगे पनि धेरै निर्वाचित सदस्य अनुपस्थित रहेका थिए । स्रोतको अनुसार पौडेल समूहका धेरै सदस्य अनुपस्थित रहेका थिए । यद्यपि, देउवा समूहका नेता भने खानपिनको कार्यक्रममा सहभागी थिए ।
कार्यक्रममा आएका नवनिर्वाचित पदाधिकारी र सदस्यहरूलाई लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमका अध्यक्ष प्रज्ञान न्यौपानेले विशेष स्वागत गरेका थिए ।
कार्यक्रममा लोकतान्त्रिक रोजगार व्यवसायी फोरमका पूर्व अध्यक्ष किरण किशोर घिमिरे, नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विमल ढकाल, संघका पूर्व अध्यक्ष तिलक रानाभाटलगायतको सहभागिता रहेको थियो ।
कार्यक्रमपछि कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले मदिरा सेवन गरेका थिए । मदिरा सेवन गर्दै उनीहरूले मध्यरातिसम्म रमाइलो गरेको एक केन्द्रीय सदस्यले बताए ।





















प्रतिक्रिया