पेट पाल्नका लागि परदेशिने युवाले प्रायः घरबाट बिदा हुने समयमा आफ्नो परिवारलाई सान्त्वना दिँदै बाचा गर्छन्– ‘मेरो पीर नगर्नु म छिट्टै फर्कन्छु ।’ तर छिटो भनेको कहिले हो एक हप्ता, महिना, वर्ष या कति वर्ष ?
वैदेशिक रोजगारीका लागि जाने युवा कम्तिमा पनि दुई या चार वर्षको सम्झौतामा हिँडेको हुन्छ !
नियतिले एक बारको जुनिमा एक–एक पलको महत्व बोकेको समयलाई सपनाहरुको बोझले थिचिदिएर दुई वर्ष पनि छिटो भन्न बाध्य तुल्याउँछ । यति छिटो मानौं पट्यारलाग्दो एक रातको जुन डुबेपछिको बिहान ब्यूँझिँदा दुई वर्ष पुगिसकेको हुनेछ ।
कम्तिमा दुई वर्षदेखि बढीमा १५ वर्ष विदेशमा मजदुरी गरिरहेका लाखौ युवायुवती स्वदेश फर्कन चाहन्छन् । आफ्नै देश आफ्नै गाउँ र आफ्नै माटोमा परिश्रम गर्न चाहन्छन् । तर दुर्भाग्य तिनीहरु चाहेर पनि आफ्नो जन्मभूमि फर्कन सकिरहेका छैनन् । कारण नेपालको अत्यन्त नाजुक अवस्था गोजीमा अलिअलि पैसा छ नेपालमा गएर आफूसँग भएको पैसा र ऋण लिएर एउटा सानो उधोग धन्दा गरौंला, एउटा ब्यवसाय गरौंला ।
म काम गर्नको दुःखले र ठूलो महत्वाकांक्षा बोकेर रातारात धनी हुने र महलमा बस्ने सपना बोकेर विदेशिएको होइन । १२ घण्टा हड्डी घोट्दा पनि आफ्नो घरपरिवारलाई बिहान बेलुका सुखले दुई छाक खुवाउन, चाडबाडमा मीठोमसिनो र एकजोर राम्रो लुगा किनिदिन नपुगेपछि विरक्तिएर विदेशिएको हुँ ।
त्यसका लागि देशमा शान्ति सुरक्षा होस्, नियमित बिजुली आओस्, बन्द हड्ताल र चन्दा आतंक रोकियोस् । यत्ति हो विदेशिएर नेपाल फर्कने तयारीमा रहेका लाखौं युवाले सरकारसँग खोजेको कुरा । तर खै कोसँग छ यी कुराको सम्बोधन गर्न सक्ने क्षमता ?
म जस्तै विदेशिएका लाखौं युवाहरुको कुरा गरौं ।
आजभन्दा लगभग आठ वर्ष अगाडि विदेशिन लागेका प्रत्येक युवा झैं घर छिट्टै फर्कन्छु भन्दै दुईदेखि तीन वर्षका लागि विदेश हिँडेको अहिले आठ वर्ष विदेशिकै लागि आफ्नो उर्बर र उर्जावान् जवानी बिताइसकें ।
देशको अवस्था सुध्रिएला र नेपाल फर्किउँला भन्दा भन्दै नेपालको अवस्थाप्रति चिन्तित हुँदै इन्टरनेटमार्फत देश बुझ्दै आफैंलाई धिक्कार्दै अब आफैंलाई बोझ हुने बुढो शरीर मात्रै बोकेर जानुपर्ने त होला नि । १०/१० वर्षअघि विस्तारै आफ्नै जीवनकालमा देश बन्ला शान्ति सुरक्षा होला । कच्चि बाटोमा चप्पल लगाएर लड्दै धुलो उडाउँदै हिड्नुपर्ने मेरो बाध्यता पक्कि सडक बनेपछि हट्ला । विरामी हुँदा मेरी बुढी आमालाई डोकोमा बोकेर स्वास्थ्य चौकी होइन एम्बुलेन्समा राखेर अस्पताल लैजान पाइएला । मेरा बच्चाहरु घरबाट घण्टौं हिँडेर पुग्नुपर्ने महंगो प्राइभेट बोर्डिङमा हैन घर नजिकैको सरकारी स्कुलमै गुणस्तरीय शिक्षा पढेर देशका सज्जन र शिक्षित नागरिक बन्लान् । एक्लै विदेशी भूमिमा पसिना बगाउनुपर्ने मेरो बाध्यताको अन्त्य भइ आफ्नै देशको माटोमा आफ्नै घर–परिवारसँग बसेर दुइ छाक मीठो मसिठो आनन्दले खान पाइएला भनेर सोच्ने गर्थें । रह्यो सपना अधुरो !
अब त म मेरो आफ्नो हैन मेरो सन्तानले पनि दुख पाउने भए । उनीहरुको पनि भाग्यमा विदेश र हातको हत्केलामा पासपोर्ट लेखिइसकेको छ भन्नेमा चिन्ता लाग्न थालिसक्यो । को छ हाम्रा लाखौं युवाको आवाज सुनिदिने पीडा सुनिदिने र हामीलाई आफ्नै देशमा रोजगारी दिई नेपाली भएकोमा गर्वको अनुभूति गराइदिने ?
म काम गर्नको दुःखले र ठूलो महत्वाकांक्षा बोकेर रातारात धनी हुने र महलमा बस्ने सपना बोकेर विदेशिएको होइन । १२ घण्टा हड्डी घोट्दा पनि आफ्नो घरपरिवारलाई बिहान बेलुका सुखले दुई छाक खुवाउन, चाडबाडमा मीठोमसिनो र एकजोर राम्रो लुगा किनिदिन नपुगेपछि विरक्तिएर विदेशिएको हुँ ।
देशमै केही गरौं भन्ने सोचले मैले सानोतिनो घरेलु उद्योग धन्दा सञ्चालन नगरेको पनि होइन । मेरो कारखाना बिजुलीले चल्थ्यो । नेपालको विजुलीको के कुरा गरौं (रातभरि टुकी बत्तिले र दिउँसो घामले) मेरो सानो कारखाना चल्न सकेन गोलखाडि गयो ।
बाबु बाजेले गर्दै आएको पेशालाई अलि विस्तार गरेर आधुनिक तरीकाले अपनाउँन त भनेर साहुसँग ऋण खोजेर गाई फार्म नखोलेको पनि होइन । ओ सरकार, ओ माओवादी, मधेसी दल र राप्रपा, कमल थापा, अशोक राई, उपेन्द्र यादव, बाबुराम भट्टराईहरु (मेरो गाईको दूध बजारमा नपुग्दै तपाईहरुको पार्टीले नेपाल बन्द गरेर बीच बाटोमै पोख्नु प-यो । अब दूध बेच्न नपाएपछि म मेरो गोठको गाईलाई के खुवाएर पालौं कसरी बचाउँ ?
त्यसैले उडायो सपना सबै हुरीले भन्दै दिमागमा एउटै मात्र उपाए घुमिरह्यो हरियो पासपोर्ट र अरबको बाटो । अनि मेरो विदेश यात्रा शुरु भयो लाहुरे फिल्मको गीत गाउँदै । बस है मेरी आमा फर्कि आउँला कुनै दिन भन्दै । विदेशको दुख र हैरानी त के बयान गरौं विदेशमा दुखको अनुभव नगर्ने कुन युवा होला र मैले बताइराख्नुपर्ला ?
अब त म मेरो आफ्नो हैन मेरो सन्तानले पनि दुख पाउने भए । उनीहरुको पनि भाग्यमा विदेश र हातको हत्केलामा पासपोर्ट लेखिइसकेको छ भन्नेमा चिन्ता लाग्न थालिसक्यो । को छ हाम्रा लाखौं युवाको आवाज सुनिदिने पीडा सुनिदिने र हामीलाई आफ्नै देशमा रोजगारी दिई नेपाली भएकोमा गर्वको अनुभूति गराइदिने ?
हाल : इजरायल















प्रतिक्रिया