काठमाडौं, १३ चैत । नेकपा (क्रान्तकारी माओवादी)को शुक्रबारबाट सुरू भएको केन्द्रीय समितिको बैठक आज पनि बस्ने भएको छ ।
बिहान ११ बजेपछि पार्टी मुख्यालय बुद्धनगरमा बस्ने बैठकमा एकीकृत माओवादीसँगको पार्टी एकताका विषयमा अध्यक्ष मोहन बैद्य र महासचिव रामबहादुर थापाले पेश गर्नु भएको पुरक प्रस्तावमाथि टिप्पणी हुने केन्द्रीय सदस्य रामदीप आचार्यले जानकारी दिनुभयो । ‘अध्यक्ष र महासचिवको दुई प्रस्तावमा आजबाट केन्द्रीय सदस्यहरूले धारणा राख्नु हुनेछ’, उहाँले भन्नुभयो ।
शुक्रबारको बैठकमा अध्यक्ष वैद्यले राख्नुभएको प्रतिवेदनमाथि फरक मत राख्दै महासचिव रामबहादुर थापाले पनि अर्को प्रतिवेदन पेस गर्नुभएको थियो ।
अध्यक्ष वैद्यले एकीकृत माओवादीसँग विचार र सिद्धान्तमा सहमति भएमात्रै एकता सम्भव भएको निष्कर्षसहितको प्रतिवेदन पेस गर्नुभएको छ ।
प्रतिवेदनमा वैद्यले जनवादी क्रान्तिको कार्यदिशालाई जोड दिनुभएको छ भने थापाले राष्ट्रिय जनवादको नयाँ कार्यक्रम प्रतिवेदनमा ल्याउनुभएको छ ।
महासचिव थापाले क्रान्तिकारी माओवादीबीचको एकता नै अहिलको आवश्यकता रहेको ठहर गर्दै नमिलेका विषयमा थप छलफल गरी अहिले एकतालाई जोड दिनुपर्ने प्रतिवेदनमा उल्लेख गर्नु भएको छ ।
उता, आलोचकहरूले एमाओवादीसँगको पार्टी एकताको विषयमा राजनीतिक कार्यदिशालाई लिएर तत्काल कुरा नमिल्ने सम्भावना कम रहेको जनाएका छन् । जारी बैठकमा कुरा नमिले महासचिव थापासहितको समूहले पार्टी विभाजन गरेर एमाओवादीमा विलय हुने संकेत गरिसकेको आरोप छ ।
यस्तो अवस्था रहे फेरि पनि अध्यक्ष बैद्य बाहिर रहनु हुनेछ । उहाँलाई उपाध्यक्ष सीपी गजुरेल, देव गुरुङसहितका नेताले साथ दिने छन् । थापालाई पम्फा भुसालसहितका नेताहरूले सहयोग गर्ने संकेत देखिएको छ ।












प्रतिक्रिया