३१ आश्विन २०८३, शनिबार

क्रान्ति जरुरी छ मनमाया !

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

revolution-handहिजो आमाहरू अध्याँरो कुवाबाट
चिहाउँदै मनमनै कल्पना गर्थे होलान्
यो जंजिरले बाँधेको संस्कार
निरंकुशताको शासनभित्र
कतिन्जेल सिमित रहला

परम्परा र धर्मको नाममा लादिएका मेरी आमाहरू
शीरैमाथिको तातो घामले डामेर
चैतको सुख्खा खडेरीको जमिन जस्तो
चरचर सुकेको मुखमा
अग्र्यानिक झोलमा मात्तिएका बाबुहरूको
आफ्नै स्वतन्त्रतालाई कुल्चिएका
पाउ भिजेको
पानीले मुख भिजाउँदा
सन्तुष्टिको भन्दा मुक्तिको
महसुस गर्थे

मेरी आमाहरू जसरी
कुँजिएका थिए
छट्पटाइ रहेका थिए
कालो च्यादरले ढाकिएको अन्धकारभित्र
जसरी
निसास्सिरहेका थिए

म मेरि मनमायालाई भन्ने छु
किताबभित्र लेखिएका स्वतन्त्रता र
नारीका हकका मन्त्रहरू
पढेर नबस

उठ अनि भत्काउ
ती नारीका नाममा लगाइएका बारहरू
च्यात ति काला च्यादरहरू
उठाउ रातो झन्डा
अनि गर विजयको शंखघोष

हिजो हाम्री आमाहरू
जुन
हैकमी आदेशभित्र पेलिएर
आफ्ना ईच्छा चाहनालाई
मनभित्रै कुन्ठाएर पाल्नु परेको थियो

धर्मका नाममा नारीलाई बन्देज बनाएर
जौ, तीलसँगै अग्नि कुण्डमा होमेर
तातो रापमा आगो ताप्नेहरू
शासक र सामन्तीहरूको
मगज परिवर्तन गर्न
आज तिमीले क्रान्ति गर्न
जरूरी छ मनमाया

हो मनमाया
तिमीले नयाँ इतिहास कोर्नु छ
सदियौंदेखि
दबिएर बस्न अभिशप्त मेरी आमाहरूका
ईच्छा, आकांक्षा पुरा गर्न
जुन अभिभारा तिमीलाई सुम्पेको छु
त्यो समाजका कैयौं छोरीहरूको
उन्मुक्तिको बाटो बन्नेछ

भोलि बन्ने कयौं आमाहरू
त्यो स्वतन्त्रताको फराकिलो आकाश हँुदै
बन्द रहेको क्षितिज
उघार्न जानेछन्
इतिहासको पानाभरी
ठूला अक्षरमा तिम्रो नाम रहिरहनेछ
क्रान्तिकारी मनमाया ।

– रामकृष्ण अनायास