बार्सिलोना (स्पेन),९ चैत । स्पेनको उत्तरपूर्वी इलाकामा गत आइतबार भएको बस दुर्घटनामा परी घाइते भएका मध्ये २४ जना अस्पतालमै उपचारार्थ रहेका छन् ।
यस दुर्घटनामा परी १३ जना विश्व विद्यालयका विद्यार्थीको मृत्यु भएको थियो । घाइतेहरुमध्ये छ जनाको अवस्था चिन्ताजनक छ भने एकजना अत्यन्त गम्भीर रहेको जनाइएको छ ।
घाइतेहरु १२ राष्ट्रका रहेका जनाइएको छ । घाइते हुनेहरुमा १८ जना महिला र ६ जना पुरुष रहेका पनि जनाइएको छ । बार्सिलोनाको विभिन्न १० वटा अस्पतालमा ती घाइतेहरुलाई भर्ना गरिएको छ ।
सो दुर्घटनामा मारिएकामा सात इटालीयन, दुई जर्मन, एक रोमालीयाली, एक फ्रान्सेली, एक उज्वेकिस्तानी र एक अष्ट्रेलीयाली रहेका छन् । ती व्यक्तिहरु १९ देखि २५ वर्षका रहेका जनाइएको छ ।
बार्सिलोना विश्वविद्यालयमा भर्ना भएका उनीहरू स्पेनको पूर्वी सहर भेलेन्सियामा आयोजित एक परम्परागत कार्यक्रममा सहभागी भई बार्सिलोना फर्किँदै गर्दा दुर्घटना भएको थियो ।
बार्सिलोनाबाट १५० किलोमिटर टाढा रहेको फ्रेजिनल सहरनजिकै सो दुर्घटना भएको थियो । उनीहरू कुनकुन देशबाट स्पेन आएका थिए भन्ने विषयमा समाचारमा केही जनाइएको छैन ।एपी















प्रतिक्रिया