फिल्म समिक्षा
– दैनिक नेपाल
शुक्रबारदेखि मिलन आले निर्देशित तथा सविन श्रेष्ठ र भानुप्रतापको मुख्य अभिनय रहेको नेपाली फिल्म लक्ष्य प्रदर्शनमा आएको छ । सुखान्तमा अन्त्य गरिएको फिल्म एउटा बक्सर बन्ने लक्ष्य राखेको युवा सक्षम (सविन श्रेष्ठ)को सपना पूरा भएको कथामा आधारित छ । ओमकिरण फिल्मस् प्रालिले निर्माण गरेको २ घन्टा ८ मिनेटको फिल्म बक्सर बन्ने लक्ष्य लिएको सक्षमको प्रेम, झगडा र लक्ष्यमा नै केन्द्रित रहेर बनाइएको छ ।
परम्परागत कथामा बनाउने प्रयत्न गरिएको यो फिल्म हिन्दी फिल्म ब्रदर्शको झझल्को आउने गरी बनाइएपनि यसमा नेपाली कथालाई उन्ने प्रयास गरिएको छ । परिवारमा छोरालाई लाहुरे नै बनाउनुपर्छ भन्ने मान्यता राख्ने लमजुंगको परिवारको दृढता, परिवारको छोरोको फरक लक्ष्यको अन्तरद्वन्द्वलाई कथाका रुपमा उन्ने प्रयास गरिएको छ । बक्सर बन्ने सपना बोकेको सक्षम लाहुरे बन्न चाहँदैन । तर, परिवारको दबाब रहेका कारण उसले गाउँ छाडेर काठमाडौं छिर्छ । सहरको नामुद बक्सर आरभजंग राणा (भानु प्रताप) को अन्तरकथा बुझ्ने प्रयास गरिरहेकी पत्रकार युवती (अनु शाह)लाई प्रताप (आरभजंगको भाई)ले लखेट्ने क्रममा सक्षमले बचाएपछि उसको बक्सर बन्ने योजनाको घुमाउरो अध्याय सुरु हुन्छ ।
एकतर्फी रुपमा मनपराएकी पत्रकार युवतीले सक्षमको योजना साकार बनाउनका लागि राजेन्द्र पाण्डे (अर्जुनजंग शाही)को बक्सिंग तालिम केन्द्रमा भर्ती गराउँछे, जहाँ आरभजंग राणाको एक्लौटी शासन हुन्छ । सक्षमको प्रेममा परेकी पत्रकार युवती त्यतिवेला सक्षमबाट टाढा हुन्छे जतिबेला गाउँमा सक्षमको विवाहको कुरा छिनेकी युवती निशा (सारिका केसी) काठमाडौंमा सक्षमलाई खोज्दै आउँछे । तालिम लिएर राम्रो बक्सर बन्दै गएको सक्षम र बक्सिंगमा अव्वल रहेको आरभजंग राणा दुवै राष्टिय खेलका लागि छनौट हुन्छन् । आरभ र सक्षमबीच प्रतिस्पर्धा हुन्छ । अन्तर्राष्ट्रिय खेलका लागि अन्त्यमा सक्षम सेलेक्ट हुन्छ । त्यति नै बेला आफ्नो भाई प्रतापलाई घाइते बनाउने सक्षम हो भन्ने थाहा पाएपछि आरभजंगले सक्षमलाई एट्याक गरेर घाइते बनाएर फालिदिन्छ । सक्षमले आरभजंगसँग बदला लिएर अन्तर्राष्ट्रिय खेलमा सहभागी हुन्छ र गाउँमा गएर निशासँग विवाह गर्छ । घरपरिवार सुखी हुन्छन् । अन्त्यमा नेपाल आर्मीले सक्षमलाई जागिरमा राख्छ । बाबुको सपना पनि पूरा हुन्छ, सक्षमको सपना पनि पूरा भएर कथा सुखान्तमा अन्त्य हुन्छ ।
कास्ट
फिल्ममा हीरोका रुपमा सक्षम .(सविन श्रेष्ठ) आरभजंग राणा (भानु प्रताप), पत्रकार युवती (अनु शाह), निशा (सारिका केसी) राजेन्द्र पाण्डे (अर्जुनजंग शाही)लगायतको मुख्य भूमिका रहेको छ । फिल्म सँधैभरि नायकले दौडाउँछ भन्ने छैन । फिल्ममा अन्य कलाकारको औसत अभिनय रहेको छ भने खलपात्रका रुपमा उतारिएका भानु प्रतापको अभिनय सम्झनयोग्य छ । परम्परागत कथा, विल्कुलै नयाँ नलाग्ने कथा भएपनि भानुप्रतापको अभिनय सम्झनलायक छ । हलिउड अभिनेता यारी बोयका झझल्को आउने उनको लुक्स र अभिनयलाई दर्शकले प्रशंशा गर्छन् । सुनिल थापा, अर्जुनजंगशाही लगायतको अभिनय तारिफयोग्य छ । अभिनेत्री अनु शाह र सारिका केसीको अभिनय औसत छ । सविनको अभिनय निरन्तराभन्दा फरक केही पनि पाउन सकिँदैन ।
प्रविधि
ओमलाल गुरुङले निर्माण गरेको फिल्मको प्रविधि उच्च छैन । औसत रुपमा छायांकन गरिएको फिल्ममा सुनम तण्डुकारले उत्कृष्ट काम देखाउन सकेका छैनन् ।
अन्ततः सुशील पंगेनीको कथा नयाँपन नभएपनि निर्माण पक्षको कमजोरीका कारण कथा पनि कमजोर सावित भएको छ । हिमाल केसीको एक्सन औसत छ भने नृत्य निर्देशक रामजी लामिछानेको काम पनि औसत छ ।
फिल्म कलात्मक, सृजनात्मक प्रस्तुतिको आधार भएका कारणले पनि सवैभन्दा ठूलो भूमिका निर्देशकको हुन्छ । निर्देशकले कलाकारबाट अभिनयलाई बाहिर निकाल्न सकेन भने त्यसको औचित्य सावित हुँदैन । भानु प्रताप र सुनिल थापाबाहेकबाट अभिनयको आशा उच्च रुपमा गर्नु अस्वभाविक ठहर हुनेछ । फिल्म औसत बनेको छ, बाँकी निर्णय दर्शकले गर्नेछन् ।















प्रतिक्रिया