
काठमाडौं । अमेरिकाको प्रतिष्ठित क्युइन्स वल्र्ड फिल्म फेस्टिभलमा नेपाली फिचर फिल्म ‘डाइङ क्यान्डल’ (निभ्न लागेको दियो) स्क्रिनिङ हुने भएको छ ।
स्क्रिनिङसहित तीन प्रतिस्पर्धी विधामा डाइङ क्यान्डल नोमिनेसनमा परेको हो । डा. नरेश कुमार केसी निर्देशित यस फिल्म उत्कृष्ट फिल्मसहित सिर्जना सुब्बा उत्कृष्ट हिरोइन, दिपांकर सिग्देर र रविन आचार्य उत्कृष्ट छा“याकारमा मनोनित भएका हुन् । फेस्टिभल मार्च १५ देखि २० सम्म अमेरिकाको न्यूर्योकामा हु“दैछ । ‘डाइङ क्यान्डल’ १९ मार्चमा स्क्रिन हुने फेस्टिभलको अफिसियल वेवसाइटमा उल्लेख गरिएको छ । “स्क्रिनिङ सहित मनोनयनमा परेको खबरले खुशी भएका छौं,” निर्देशक केसीले उत्साही हु“दै भने, “पुरस्कार जित्यौं भने त अन्तर्राष्ट्रिय बजारमा फिल्मको डिमान्ड बढ्नेछ ।” फिल्मले दिदीभाईबीचको आत्मीयताको कथा मार्मिक र कलात्मक शैलीमा पोखेको छ ।
उसो त यसभन्दा अगाडी पनि ‘डाइङ क्यान्डल’ भ्यालेन्टाइन्स डेमा अमेरिकाकै सिने भर्डी फिल्म फेस्टिभलमा प्रिमियर भएको थियो । उक्त फेस्टिभबाट पाएको सकारात्मक प्रतिक्रियाले आफ्नो हौसला बढाएको केसीले बताए । ३ मार्चमा यस फिल्म युनिभरसिटी अफ साउर्दन क्यालिफोर्निया (युएसस्सी)को स्कुल अफ सिनेम्याटिङ आर्टस् विभागमा स्क्रिनिङ भएको थियो । यो कलेज विश्वकै पहिलो नम्बरमा रहेको फिल्म कलेज हो । अनि निर्देशक केसीले यही कलेजबाट फिल्म एन्ड टेलिभिजन प्रोडक्सनमा स्नात्तकोत्तर गरेका हुन् । युएसस्सी पढ्ने उनी पहिलो नेपाली पनि हुन् । युएसस्सीमा त्यहा“ अध्ययनरत विद्यार्थीहरु सहित प्राध्यापक जेनिफर वारेन, अमान्डा पप, स्पँइडर म्यानबाट भिएफएक्समा ओस्कार जितेका डाक्टर पउल डिभेबेकलगाएतका विश्व विख्यात फिल्मकर्मीले ‘डाइङ क्यान्डल’ हेरेपश्चात कथावस्तु र प्रस्तुती शैलीको प्रसंशा गरेका थिए । स्क्रिनिङमा नेपालबाट अभिनेता अर्पण थापा तथा निर्माताद्वय रविन आचार्य र उत्तम केसी सहभागी थिए । क्युइन्समा पनि उनीहरु तीनै जना उपस्थित हुने निर्देशक केसीले जानकारी गराए ।
‘डाइङ क्यान्डल’को पटकथा निर्देशक केसीले अमेरिका बस्दै लेखेका थिए । पश्चिमा समाजमा आमाबाबुदेखी प्रेमीप्रेमीका, साथी र शिक्षकसम्मको प्रेम पोख्ने निश्चित विशेष दिन हुन्छन् । तर दिदी भाईको प्रेम दर्शाउने त्यस्तो खास दिन छैन, हाम्रो तिहार जस्तो । “त्यसैले हाम्रो यही अग्र्यानिक स्टोरी भन्यौं भने बाहिरी दुनियाको मन जित्न सक्छौं भन्ने लोभ पलायो । हाम्रो समाजमा दिदीभाईबीचको आत्मीयता कुन तहमा हुन्छ भनेर विदेशीलाई अनुभुत गराउनु पनि थियो,” केसीले आत्मविश्वास पोखे, “दिदी भँई हुनेले त यो फिल्मस“गै आफूलाई सजिलै कनेक्ट गर्छ नै, नहुनेको मन झन् धेरै छुन्छ, अभावले ।” कथा जस्तै लोकेसनमा पनि मौलिकता र नेपाली सुगन्ध दिलाउन उनले रसुवाको दुर्गम गाउ गत्लाङमा फिल्म खिचेका छन्, त्यो पनि स्थानीय कलाकारलाई लिएर । फिल्ममा मुख्य भूमिका रहेका बालकलाकार लाक्पा सिंगी तामाङ गत्लाङकै बच्चा हुन् । हलमा फिल्मसम्म नहेरेका सिंगीलाई लामो समय प्रशिक्षण गराएपछि केसी अभिनय गराउन सफल भएका थिए । सिंगीले खारिएको कलाकारजस्तै जीवन्त अभिनय गरेको केसीले सुनाए । फिल्ममा सिर्जना, सिंगी, अर्पणसहित सौगात मल्ल र विद्या कार्कीको पनि मुख्य भूमिका रहेको छ । रंगकर्मी विमल सुवेदी पनि फिल्मको निर्माता तथा कास्टिङ डाइरेक्टर हुन् ।
नेपालमा भने डाइङ क्यान्डल अर्को वर्षको असारमा रिलिज हुने भएको छ । वितरण अधिकार गोविन्द शाहीले लिइसकेका छन् । नेपालमा भने फिल्मको व्यावसायिक चुनौती देख्छन् निर्देशक केसी । कारण, एक दिनको त्यसमाथि एउटै घर भित्र जम्मा चार पात्रको कथा देखाइएको छ फिल्ममा । नेपाली परम्परागत मसलाबाट पनि पूर्णमुक्त छ । “यदी दर्शक हलसम्म आए भने यसको कथाले दर्शकको मन जित्ने छ, त्यसमाथि यसले नया“ चलचित्रकर्मीलाई नया“ विषयमाथि काम गर्ने हौसला दिनेछ,” केसीको भनाई छ, “विश्व सिनेमामा नेपाली कथाहरु पुगेककै छैनन् भन्दा हुन्छ । बाहिरी दुनियालाई आफ्नो समाज र कथा देखाउने महत्वपूर्ण मिडियम भनेकै सिनेमा हो । त्यसो हुनाले हामीले मनोरञ्जनको साथसाथै विषयवस्तु पनि संवेदनशिल र मौलिक हुनु आवश्यक छ ।”
केसीले युएसस्सीमा स्नात्तकोत्तर गर्नु अगाडी न्युर्योक फिल्म एकाडेमीमा एक सेमेस्टर पढेका थिए । त्यसबाहेक उनले ओस्कारमा फिल्म स्टडिजमा स्नातक, शंकरदेव क्याम्पसबाट एमबिएस र त्रिभुवन विश्वविद्यालय केन्द्रिय क्याम्पसबाट अंग्रेजी साहित्यमा एमए गरेका छन् । विकास बोर्डले गरेको राष्ट्रिय स्तरको स्क्रिप्ट लेखन प्रतियोगितामा उनले लेखेको फिल्म युवाले प्रथम पुरस्कार जितेको थियो, जतिबेला उनी ओस्कारमा पढ्दै थिए ।















प्रतिक्रिया