
वासिङटन, ३० फागुन । अमेरिकी राष्ट्रपति बराक ओबामाले चुनावी प्रचारप्रसारमा रहेका राष्ट्रपति पदका आकांक्षीहरुलाई विभाजन निम्त्याउने र अपमानजनक शब्दहरु प्रयोग नगर्न सुझाव दिएका छन् ।
जाति र धर्मका आधारमा कसैलाई अपमानित गर्ने, हिंसा र विभाजन निम्त्याउने कार्यबाट राष्ट्रपति पदका आकांक्षीहरु टाढा रहनुपर्नेमा उनले जोड दिए ।
शिकागोमा रिपब्लिकन पार्टीको तर्फबाट राष्ट्रपति पदका आकांक्षी डोनल्ड ट्रम्पले पूर्वनिर्धारित र्याली स्थगित गर्नुपर्ने गरी उनका समर्थक र प्रदर्शनकारीबीच झडप भएको भोलिपल्ट ओबामाको पछिल्लो टिप्पणी आएको हो ।
आउँदो नोभेम्बरमा कार्यकाल सकिन लागेका राष्ट्रपति ओबामाले शनिबार डाल्लसमा डेमोक्रेटिक पार्टीका निम्ति रकम संकलन गर्न आयोजित कार्यक्रमलाई संबोधन गरिरहेका थिए ।
रिपब्लिकन र डेमोक्रेटिक पार्टीको तर्फबाट राष्ट्रपति पदका लागि उम्मेदवारी पाउने दौडमा रहेका ट्रम्पका प्रतिद्वन्द्वीहरुले भड्काउ कुरा गरेर उनले हिंसाको बढावा दिइरहेको आरोप लगाइरहेका छन् ।
तर ट्रम्पले प्रतिद्वन्द्वीहरुको आरोपको खण्डन गर्दै आएका छन् । ओबामाले भने, “राष्ट्रपति पदका आकांक्षीहरु अहिलेको अवस्थालाई अझ कसरी राम्रो बनाउन सकिन्छ भन्ने कुरामा ध्यान केन्द्रित गर्नुपर्छ, जाति र आस्थाका आधारमा अरुलाई अपमानित गर्ने, आफैंले तथ्य बनाउने र विभाजन ल्याउने काममा होइन ।”
शिकागोमा ट्रम्पको र्याली प्रारम्भ हुनु एक घण्टाअघि झडप शुरु भएको थियो । सुरक्षाको कारण देखाउँदै कार्यक्रम स्थगित भएको घोषणा गरिएपछिसम्म झडप जारी रह्यो ।
प्रदर्शनकारीहरुबाट ट्रम्पका समर्थकहरुले झण्डा खोस्न खोजेपछि हिंसात्मक झडप शुरु भएको थियो । एकजना प्रदर्शनकारीलाई मञ्चबाटै हटाउनुपरेको थियो । त्यसपछि कार्यक्रम स्थलबाहिर पनि झडप जारी रह्यो । (बीबीसीबाट)















प्रतिक्रिया