हुन् त मानिस जहाँ बसे पनि जसो तसो जीवन चलेकै हुन्छ । तर हामी धेरै जसो नेपाली कडा परिश्रम गरेरै आफ्नो परिवारका लागि खुशीको जीवन बिताउने सोचमा विदेसिन्छौं । विदेशीने क्रममा कतिपयका घर बिग्रिएका छन् । परदेशमा दुःख गरेको कमाएको रकमको सदुपयोग हुनसकेको छैन । घरमा श्रीमान् नहुँदा श्रीमती परपुरुषसँग लागेर सबै सम्पत्ति सकाएको उदाहरण पनि हाम्रै सामुन्ने छन् । त्यति मात्र होइन विदेशिएकाहरुको अर्को पीडा पनि डरलाग्दो गरी बढेको छ । एक्लोपन जीवन बिताउनु पर्दा मानसिक समस्या देखा पर्ने गरेको छ । विदेशीने धेरै युवायुवतीमा यो समस्या देखिएको छ ।
वैदेशिक रोजगारीमा जानुअघि देखी नै म्यानपावर कम्पनीहरुले दुःख दिने गरेका छन् । घरखेत बेचेर ल्याएको सम्पत्ति लुटिएको छ । राहदानी बनाउने क्रममै लुटिने गरिएको छ । ऋण गरेर ल्याएको पैसाको चर्को ब्याज तिर्नुपर्ने हुन्छ । त्यो खतरा हामीले मोलेकै छौ । त्यहाँबाट खतरा मोल्दै जब हामी विदेसिन्छौं, त्यहाँ झनै ठूला चुनौती थपिँदै जान्छनन् । भाषा आउँदैन, सीप केही हुँदैन । काम सजिलो मिल्दैन । जब आफूले सोछे जस्तो विदेश हुँदैन हाम्रा धेरै सपना चकनाचुर हुन्छन् । घरबाट पैसाको माग बढ्न थाल्छ अनि ऋण लिएर रकम तिर्नुपर्ने ताकेता शुरु हुन्छ । भनेजति पैसा कमाउन नसकिएपछि परिवार र समाजलेसमेत शंका गर्न थाल्छन् । अनि त्यहिँबाट मानसिक रोग लाग्न शुरु हुन्छ ।
यता घर परिवार र छोरा छोरीको बिजोग हुन्छ । कसैको हकडर नहुँदा उनीहरुको जीवन ज्यादै कष्टकर हुँदै अघी बढेको हुन्छ । हामी जब स्वदेश फर्कन्छौं, हामीसँग भएको बुढो शरीर नै बोझिलो र दर्दनाक अवस्थामा पुगिसकेको हुन्छ । जुन परिवेशमा हामी जन्मिएका हुर्किएका हुन्छौं, त्यो बिदेशको हावापानीसँग मेला खाँदैन । त्यसैले अनेक किसिमका रोग लाग्नु स्वभाविकै हो । धेरै वर्ष विदेशिएपछि हामीलाई न परिवारको माया र साथ हुन्छ न त राज्यले हेर्छ । बाखुरीको शक्तिसमेत नभएको अवस्थामा व्यक्ति स्वयम् बोझ बन्दै जान्छ, सामाजिक तिरस्कारसमेत बढ्दै गएको महसुस हुन थाल्छ ।
अहिलेको युवा शक्ति राज्यलाई बोझ भएजस्तै भएको छ । त्यसैले त सरकारलेसमेत विभिन्न मुलुकमा गएर आफ्नो देशको जनशक्तिलाई काम दिलाइदिन आग्रह गर्दै आएको छ । सरकारले नै विदेशीन युवाहरुलाई प्रोत्साहन गरिरहेको छ । मुलुकमा बेरोजगारी समस्या बढ्दै गएपछि बिहानबेलुकाको हातमुख जोर्न भए पनि विदेशीनुको बाध्यता छैन । तर विदेशमा पुगेका कतिपय नेपाली चेलीहरुले मानसिक र शारिरीक पीडा भोगिरहेका छन् । केही त यौनजन्य हिंसाको सिकारसमेत हुनुपरेको छ । यस्ता विषयमा स्वयम् राज्य नै उदासिन भएको देखिन्छ । आखिर यसको निकास के त ? स्वयम् राज्यसँग यसको जवाफ छैन ।
आज त हामीले जसो तसो दुःख गरेर जीवन चलाएका छौं । भोलिको अवस्था के हुने हामी सबैको चिन्ताको बिषय यही हो । हाम्रो हरेक दिनको कमाइलाई राज्यले नै ठीक ठाउँमा लगानी नगरेर भोलिको हाम्रो जिवनको सुरक्षा गर्न नसक्नु हामी माथि अन्याय गर्नु हो । यो विषयमा हामीले आवाज उठाउन जरुरी छ ।















प्रतिक्रिया