
नाइपिद्व, २७ फागुन । म्यानमारमा राष्ट्रपति पदका लागि त्यहाँकी प्रजातन्त्रवादी नेत्री आङ सान सुुकीको दलले उम्मेदवार छानेको छ । सो पदका लागि बिहीबार उम्मेदवारी दिने निर्वाचन कार्यक्रम तय गरिएबमोजिम उक्त दलले उम्मेदवार तय गरेको हो ।
म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ् सान सुकीको दलले गएको नोभेम्बर महिनामा सम्पन्न आमनिर्वाचनमा प्रचण्ड बहुमत हासिल गरेको थियो ।
सो निर्वाचनमा आएको मतपरिणामका आधारमा आगामी राष्ट्रपतिमा पनि सोही दलका उम्मेदवारले जित हातपार्ने निश्चितजस्तो देखिएको छ ।
त्यसैले यस पदमा नेत्री सुुकीले कसलाई अघि सार्नुहुन्छ भन्ने व्यापक उत्सुकता रहेको थियो । सो उत्सुकतालाई चिर्दै नेत्री सुकीले आफ्नो दल नेशनल लिग फर डेमोक्यासीका एकजना वरिष्ठ तथा आपूm निकट नेतालाई अघि सार्नुभएको हो ।
उहाँलाई म्यानमारको राष्ट्रपति पदमा उम्मेदवारी दिन कानुनले नै अनुमति दिएको छैन । तर पनि विगतका कैयौँ महिनादेखि उहाँले आफ्नो उम्मेदवारी पनि हुनसक्ने गरी कानुनी प्रक्रिया अघि बढाउने बारेमा म्यानमार सरकारसँग वार्ता गर्नुभएको थियो ।
सुकी नै यस पदका लागि उम्मेदबार हुन पाउनुहुन्छ कि भन्ने लामो समयको त्यहाँका नागरिकको उत्सुकता बिहीबारदेखि तोडिएको बताइएको छ ।
उहाँले सो दलका ६९ वर्षीय नाइपिद्वका हितन कानलाई यस पदका लागि अघि सार्नुभएको हो । उहाँ अर्थशास्त्रका स्नातक हुनुहुन्छ भने सुकीको निकटस्थका रुपमा पार्टीमा काम गर्नुभएको छ ।
उहाँको उम्मेदवारीलाई उहाँको दलले पनि स्वागत गरेको छ । उहाँ विगत लामो समयदेखि पार्टीमा रहेर काम गर्नुभएको छ भने यसका लागि उहाँ योग्य उम्मेदवार भनी पार्टीमा पनि सहमति दिइएको छ ।
म्यानमारमा हाल सैनिक सहयोगको सरकार छ । तर गत नोभेम्बरमा सुकीको दलले बहुमत ल्याएपछि संसद्को वैठक मात्र बसेको छ ।
सुकीको दलले राष्ट्रपति पद हात पारेपछि नयाँ सरकार गठन पनि गरिने प्रक्रिया सुरु हुने छ । सो प्रक्रिया बमोजिम यसै हप्ता नयाँ सरकार गठन गरिने जनाइएको छ । रासस/एएफपी















प्रतिक्रिया