
भैरहवा । भुगोलको हिसाबले अर्कै देशको भएतापनि भाषीक र आत्मीक हिसाबले नेपाली भईरहेका नेपाली भाषी ब्रमेली नागरिकहरुले नेपाली भाषा साहित्य र संस्कृर्तिमा पुराएको योगदान अतुलनीय रहेको छ ।
नेपालको ईतिहांसलाई केलाउदां कयौं नेपालीहरु बर्माबाट आए , यतै बसे त कयौं उते बसे तर पनि जो जहां बसे पनि नेपाल र नेपालीत्वप्रति सधैं अगाध माया र प्रेम जताईरहे । ३ पूस्तादेखी म्यानमारको माण्डेलामा बसोबास गरिरहेका ठाकुर प्रसाद गुरागाई पनि नेपाली भाषा साहित्यका एक शसक्त हस्ताक्षार हुन् । स्वदेशमै बसेर गरिने साहित्य सृजना भन्दा विदेशमा बसेर नेपाली भाषा साहित्यका कृर्ति प्रकाशित गर्नु कम चुनौतिको विषय होइन् । तर ७३ वर्षिय गुरागाईले २ दर्जन भन्दा बढी नेपाली भाषा साहित्यका उपन्यास, कविता, गजल, गित, मुक्तक, भजन संग्रह जस्ता समाजपरक कृतिहरु प्रकाशनमा ल्याईसकेका छन् ।
हाल पनि बर्मामै रहेका वरिष्ठ साहित्यकार गुरागाई आफुलाई ब्रमेली भन्दा पनि नेपाली नै भनेर चिनाउन खुसी हुन्छन् । जीवनमा दोस्रो पटक नेपाल आएको बताउने गुरागाईलाई मंगलबार सिद्धार्थ साहित्य परिषदको आयोजनामा लुम्बिनी क्षेत्रका साहित्यकारले सम्मान र स्वागत गर्दा अत्यन्तै भाव विहवल समेत भए ।
आफ्नी धर्म पत्नी जानुका, भाई पदम र मोति गुरागाईसहित नेपाल आएका वरिष्ठ साहित्यकार ठाकुर प्रसादले माटो भिन्न भएतापनि मुटु भिन्न भएको छैन । बाटो भिन्न भएतापनि लक्ष्य भिन्न भएको छैन ।। भन्दै कविता पाठ गर्दा उपस्थित सबै स्रष्टाहरु सोचमग्न देखिन्थे ।
नेपालको ठूलो पुरस्कार राशी भएको प्रतिष्ठीत पुरस्कार जगदम्बा श्री पुरस्कार विक्रम सम्बत २०५३ सालमा प्राप्त गरेका गुरागाई सो पुरस्कार थाप्न ०५४ सालमा प्रथम पटक नेपाल आएका थिए भने दोस्रो पटक अहिले आएका हुन् । उनको नेपाल आउने चांजोपाजो यस पटक भने नेपाली कला साहित्य डट कम र त्यसको प्रधान सम्पादक मोमिला जोसीले मिलाएकी हुन् । नेपाली कला साहित्य डटकमले साहित्यकार ठाकुर प्रसादलाई यसै हप्ता काठमाण्डौंमा नगद सहित सम्मान समेत गरेको थियो ।
दोस्रो पटक नेपाल आएका साहित्यकार गुरागाईले बर्मा मै बसेर नेपाली समाजले भोगेका समस्या र उपलब्धीलाइ यथार्तपरक ढंगले आफ्ना रचनामा पस्कीने गरेका छन् ।
विदेशी भूमिमा रहेर पनि नेपाली भाषा साह्त्यि र कलाको उन्नयनमा पुराएको योगदानको उच्च मूल्यांकन गर्दै सिद्धार्थ साहित्य परिषदले गुरागाईको सम्मानमा एक संक्षिप्त कार्यक्रमको आयोजना गरयो । परिषदका अध्यक्ष डिल्लीराज भट्टराईको अध्यक्षता, वरिष्ठ साहित्यकार विजय सागरको सन्चालनमा सम्पन्न उक्त कार्यक्रममा नेपाली भाषा साहित्य कला डट कम को प्रधान सम्पादक मोमिला जोसी, प्रश्रित प्रतिष्ठानका अध्यक्ष प्रा.डा.कपिल लामिछाने, वरिष्ठ साहित्यकारहरु बालकृष्ण भट्टराई, बनमालि निराकार, मणिराम भट्टराई, रुद्र ज्ञवाली, डा. शंकर नेपाल, रामबहादुर श्रेष्ठ, सिर्जनसिल साह्त्यिीक समाजका अध्यक्ष तेजप्रसाद पन्थ, लुम्बिनी प्रेस क्लबका अध्यक्ष माधब ढुंगाना, साहित्य परिषदका सचिव नरेश के.सी , कोषाध्यक्ष सीता काफ्ले, नेपाली साहित्यकला डट कमका कोषाध्यक्ष सुन्दर बस्नेत, पत्रकारहरु राधेश्याम विश्वकर्मा र दिपेश पछाई , विश्वप्रेम काफ्ले लगायतले विदेशमा रहेर पनि नेपाली भाषा साहित्यको श्रीवृद्धिमा पुराएको योगदानको उच्च प्रशंसा गरेका थिए ।
यसैबीच आसाममा बसोबास गर्ने वरिष्ठ साहित्यकार भविलाल लामिछाने र विरगन्जका बहुभाषीक कवि गोपाल अस्कलाई पनि सिद्धार्थ साहित्य परिषदले भैरहवामा स्वागत तथा सम्मान गरेको छ । विदेशी भुमिमा रहेर पनि नेपाली भाषा साहित्यप्रतिको लगाव र सृजनामा रमाउने स्रष्टालाई सम्मान गर्न पाउदां आफुहरु गौरावान्वीत भएको वरिष्ठ साहित्यकार बालकृष्ण भट्टराईले जनाएका छन् ।















प्रतिक्रिया