१५ कार्तिक २०८३, आइतबार

धादिङमा भूकम्प पीडितको नमूना घर बन्दै

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

House-bhukampa (1)

– प्रकाशविक्रम शाह
धादिङ, २४ फागुन । धादिङ कुम्पुर गाविस–७ मैडाँडाका ४७ वर्षीय माइलो सार्कीको हात लुलो (प्यारालाइसीस) भएको १५ वर्ष भयो । जेनतेन जीवन धान्दै आएका सार्कीको गत वैशाख १२ गतेको महाभूकम्पबाट घर भत्किएपछि बिचल्ली नै भयो ।

आफ्नो लुलो हातले कसरी बनाउने भन्ने पीरमा रहेका उनलाई गाउँमै गठन भएको भूकम्पपीडित समुहले भने केही राहत दियो । २० देखि २५ परिवारको संलग्नतामा बन्ने समूहले गाउँमा आउने विभिन्न भूकम्प पीडित सहयोग प्राथमिकताका आधारमा सबैभन्दा कमजोर तथा विपन्न परिवारलाई दिने गरेको छ ।

House-bhukampa (2)भूकम्पबाट मैडाँडाका १७ घर भत्केका थिए । भत्किएका सबै १७ घर दलित समुदायका हुन् । ‘भूकम्प आएपछि पाँच दिनसम्म भत्केको घर नजिक पनि आएनौ, खुला ठाउँमा बस्यौ । डाँडाभरी धुलोको मुस्लो देखियो’ उनले सुनाए– हातखुट्टा चल्नेले त कुनै न कुनै तरिकाले घर बनाउलान्, मैले कसरी बनाउने ? भनेर पीर गरिरहेको थिए, यो समूहले मेरो घर बनाउने निर्णय गरेछ ।

समूहको निर्णयबाट खुसी भएका माइलोले गत शुक्रबार २० हजार रुपैयाँ बराबरको निर्माण सामग्री पाएका छन । कुम्पुरमा एक सय छ समूह छन् । सरकारले सार्वजनिक गरेका घरका नमूना नक्साको आधारमा कुम्पुरमा माइलो जस्तै एक समूह एक नमूना घर बनाउने योजना अनुसार एक सय छ वटा नमूना घर बन्ने भएका छन् ।

माइलोकी श्रीमति सुकमाया विशंखे पनि निर्माण सामग्री पाएपछि घर बन्नेमा ढुक्क छिन् । ‘ठूलो छोराहरु अलग भइसके, १० र ६ वर्षका छोराले केही गर्न सक्दैनन्– उनले भनिन् समूदायको सहयोग र श्रमदानमा घर बन्ने भएपछि निक्कै खुसी छु । सुकमायाले चर्पी पनि बनाउन सकेकी थिइनन् । अब नमूना घरसंगै चर्पी पनि बन्ने भएकोले सजिलो हुने उनले बताइन् ।

‘हामीले नमूना घर बनाउन सहयोग गर्दा समुदायका अरुले पनि सिक्छन् र सिकेपछि आफ्नो, अर्काको र सार्वजनिक घर बनाउन सजिलो हुन्छ– फाया नेपालका टीम लिडर सच्चिदानन्द जोशीले भने– हामीले एक नमूना घरका लागि २० हजार रुपैया मूल्यको निर्माण सामग्री र पांच हजार रुपैयाँ सहयोग गरिरहेका छौं ।

घर बनाउदा प्राविधिकले गाउलेलाई बनाउने तरिका सिकाउने र त्यो सीप सिकेर उनीहरु दक्ष प्राविधिक भएर जिल्लाका अरु घर तथा भवन बनाउन सक्षम हुन्छन् भन्ने अपेक्षा गरिएको उनले बताए ।

कार्यक्रम अन्तर्गत कुम्पुरसहित दुई सय ६२ घर बनाउने योजना रहेको जोशीले बताए । टिम लिडर जोशीले बाँकी घर नलाङ, सलाङ, खरी र जोगीमारा गाविसमा बनाउने सम्भावना रहेको बताए ।

नमूना घर बनाउदा पहिले चर्पी भएर भत्केको भए बनाउनका लागि पनि आफूले सहयोग गर्ने जोशीले बताए । ‘तर नमूना घर कति कोठाको वनाउने त्यो चै घरधनीकै इच्छा अनुसार नै हुन्छ’ उनले भने– हामीले दिएको सामग्रीमा थपेर उनीहरुले धेरै कोठाको घर पनि बनाउन सक्छन ।