– कृष्ण ओली
बाजुरा, २४ फागुन । नयाँ संविधान महिमा र बिषेशता बारे जानकारी दिन नेकपा एमाले गाउँ दौडाहमा केन्द्रीत बनेको छ ।
नेपालको संविधान २०७२ मा समेटीएका विषय बस्तु र जनताले प्राप्त गरेको उपलब्धी बारे जानकारी दिन गाउँ बस्ती पुगेर एमालेले कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गरिरहेको छ ।
एमाले केन्द्रीय कमिटीको समन्वय र जिल्ला कमिटीको आयोजनामा अभियानमुखि कार्यक्रम सञ्चालन गरेको एमाले जिल्ला अध्यक्ष कालीबहादुर शाहीले बताए । जिल्ला व्यापी सञ्चालन हुने अभियानको अगुवाई नेकपा एमाले केन्द्रीय सदस्य लालबहादुर थापाले गरिरहेका छन् । थापा बाजुरा इन्चार्ज समेत हुन् ।
संविधानबारे मधेसका केही राजनीतिक पार्टीले विरोध गरिरहेका बेला एमालेले देशव्यापी बिशेष भेला मार्फत जनतालाई भ्रममा नपर्न सन्देश दिइसकेको भएपनि गाउँमा त्यसको सन्देश पुग्न नसकेकै कारण बस्तीबस्तीमा पुगेर अभियान सञ्चालन गर्नु परेको केन्द्रीय सदस्य थापाको भनाई छ ।
विकट बस्तीका गाउँहरु अझै अशिक्षा र अज्ञानतामा छन्, त्यहाँका जनतालाई धेरै कुरा बुझाउ सकिएकै छैन्, हामीले जसका लागि संविधान बनायौं उनीहरुलाई त्यसको महिमा र बिशेषता बारे बुझाउन जरुरी ठानेर नै अभियान सुरुवाद गरेका हौं, थापाले भने ।
थापा नेतृत्वको टोलीमा वैकल्पीक केन्द्रीय सदस्य प्रकाश शाह, एमाले जिल्ला अध्यक्ष कालीबहादुर शाही, सचिव बल्देव रेग्मी, जिल्ला कमिटी सदस्य जनक कुमार विष्ट लगायत दर्जन बढी नेता कार्यकर्ता सहभागि छन् । कोल्टी क्षेत्रबाट अभियान सुरु गरिएको छ ।
अभियानका क्रममा कार्यकर्ता भेटघाट तथा प्रशिक्षण भेलाका साथै संगठन सुदृढीकरण र विस्तार गर्नेक्रम पनि जारी राखिएको हो । गाउँ स्तरमा नयाँ कमिटी गठन गर्ने, विकास निर्माणको अवस्था र जनताको अपेक्षा बारे जानकारी लिने कार्यपनि नेताहरुले गरिरहेका छन् ।
निर्वाचन पछि अभियान नै सञ्चालन गरेर नेताहरु पहिलो पटक गाउँ बस्तीमा पुगेका हुन् । ढिलैभएपनि संविधान लिएर नेताहरु गाउँपुगेपछि जनताहरुले जिम्मेवारी पूरा गरेमा न्याय स्वागत समेत गर्ने गरेका छन् । हालसम्म कोटीला, कोल्टी, साप्पाटा, वाई, जुकोट, बाँधु, गोत्री लगायतका गाविसमा भेला तथा कार्यक्रम सम्पन्न भईसकेका छन् ।
त्यसक्रममा संविधानको बिषेशता बारे जानकारी दिनुका साथै गाउँ स्तरमा पार्टी तथा भातृसंगठनको कमिटी पुर्नः गठन गर्ने कार्यपनि सम्पन्न भएको छ । अभियान सम्पन्न गरिएका सबैजसो गाविस जिल्ला सदरमुकाम मार्तडीबाट डेढ÷दुई दिनको पैदल दुरीमा पर्दछन् ।
बहुदेश्य सहीत नेताहरु गाउँ पुगेपछि स्थानीय खुसी भएका छन् । एमालेले सञ्चालन गरेका प्रशिक्षण भेलामा पार्टीका कार्यकर्तामात्र नभई अन्य दलमा आस्थावानहरुले पनि उत्साहजन सहभागिता जनाएको टोलीमा सहभागि नेता जनक कुमार विष्टले बताए । संविधान सभाको निर्वाचनपछि नेताहरु गाउँ नजादाँ जनतामा खिन्नता छाएको थियो, एमालेको बिशेष अभियानले चिर्न सफल भएको विष्टले दाबी गरे ।
अभियानका क्रममा गाउँको विकास निर्माणको अवस्था बारे पनि जानकारी लिइएको छ । जिल्लामा एमालेकै ३ जना सांसद छन् । उनीहरुले वितरण गरेको रकम र निर्वाचन क्षेत्र विकास कोष अन्तर्गतको रकम कार्यान्वयनको अवस्था बारे पनि जानकारी लिइएको एमालेले बताएको छ ।
अभियान जिल्लाका २४ गाविस र १ नगरपालिकाका सबै गाउँ बस्तीमा पुग्नेछ । जनतालाई सहज रुपमा प्रशिक्षण तथा भेटघाट कार्यक्रममा सहभाग हुने गरी समयको अनुकुलता मिलाएर नै अभियान सञ्चालन गरिएको हो । गाउँमा भोट माग्न बाहेक अरु समयमा नेताहरु आउँदैनन् भन्न भ्रम चिर्न पनि एमालेले अभियान थालेको बताइएको छ ।
अभियानका क्रममा एमाले गाउँ कमिटी, अनेमसंघ, युवा संघ पनि पुर्नः गठन गरिएको छ । नगरपालिकाका १२ वटै वडामा पनि वडा नगर अभियान सम्पन्न गरिएको छ । जनताको माझमा एमाले र एमालेको नेतृत्वका विकास र संविधानको कार्यान्वयन भन्ने नारा सहीत अभियान सञ्चालन गरिएको एमाले प्रचार विभाग प्रमुख अमर खड्काले बताए ।
केन्द्रीय तहका नेताहरु नै गाउँपुगे पछि जनताले केही माग समेत राखेका छन् । गाउँमा देखिएको खानेपानी देखि सिँचाई समस्या बारे सुनाएका छन् । भने प्रमुख समस्या खडेरी रहेको र भाक समस्या हटाउने बारे सोच्न सर्वसाधारण आग्रह गरिरहेका छन् । कोल्टी क्षेत्रका सबैजसो गाविसमा खाद्य संकट देखा परेको प्राकृतिक विपत र उत्पादनमा आएको ह्रांसका कारण जिल्लामा ३५ हजार बढी जनसंख्या खाद्य संकटमा रहेको छ ।












प्रतिक्रिया