३१ आश्विन २०८३, शनिबार

म्यानपावरलाई कारवाही गर्ने एसएसपी सर्वेन्द्रलाई श्रममन्त्रीको पनि साथ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sarbendra-Khanalकाठमाडौँ, १८ फागुन । प्रहरीले म्यानपावर कम्पनीमाथि सुरु गरेको कारबाही प्रहरीको क्षेत्राधिकार बाहिर नरहेको श्रम तथा रोजगारमन्त्री दीपक बोहराले स्पष्ट पार्नुभएको छ ।

गत फागुन १२ गते प्रहरीले १८ म्यानपावरमाथि छापा मारी १२ जनालाई पक्राउ गरेको घटना वैदेशिक रोजगार ऐन, २०६४ विपरीत रहेको भन्दै आज मन्त्री बोहरालाई ज्ञापनपत्र बुझाउन गएको वैदेशिक रोजगार व्यवसायी सङ्घको टोलीलाई मन्त्री बोहराले प्रहरीले म्यानपावरमाथि गरेको कारबाहीमाथि मन्त्रालयले हस्तक्षेप गर्न नसक्ने जवाफ दिनुभएको थियो ।

व्यवसायीले वैदेशिक रोजगार ऐनअन्तर्गत वैदेशिक रोजगार विभागले मात्रै आफूहरुमाथि कारबाही गर्नसक्ने बताएपछि मन्त्री बोहराले प्रहरीले हुण्डीमार्फत अवैध मुद्राको कारोबार र मानव बेचबिखन तथा ओसारपसारजस्ता कार्यमा संलग्न देखिएकाले ती म्यानपावरलाई कारबाही गरेको आफूलाई जानकारी गराएको बताउनुभयो ।

उहाँले भन्नुभयो– “विभिन्न निकायलाई कानुनले छुट्टाछुट्टै अधिकार दिएको छ, त्यो अधिकारको प्रयोग गर्न उनीहरु स्वतन्त्र छन् ।” उहाँले हुण्डीको कारोबार र मानव बेचबिखनको विषय वैदेशिक रोजगार ऐनभित्र नपरेकाले त्यो विषयलाई ऐनमा समावेश गर्ने विषयमा व्यवसायीसँग छलफल गर्न आफू तयार रहेको धारणा राख्नुभयो ।

मन्त्री बोहराले व्यवसायीलाई मर्यादित भएर काम गरे कुनै निकायले हस्तक्षेप नगर्ने भन्दै आचरण सुधार्न सुझाव दिनुभएको थियो ।

उहाँले एक÷दुईदिनभित्रै प्रहरी र व्यवसायीबीचको अहिलको विवाद समाधान गर्न दुवै पक्षलाई राखेर समन्वय गर्न कोसिस गर्ने जानकारी दिनुभएको थियो ।

सङ्घका अध्यक्ष विमल ढकालको नेतृत्वमा गएकोे व्यवसायीको टोलीले कहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, कहिले राजस्व अनुसन्धान विभाग, कहिले प्रहरीले छापा मार्ने, धरपकड गर्ने कार्य गरेर आफ्नो व्यवसायलाई धरापमा पार्न खोजेको बताउनुभएको थियो ।

उनीहरुले पक्राउ परेकालाई तुरुन्त रिहाइ गर्न र आगामी दिनमा यस्ता कार्य नदोहो¥याउन ज्ञापनपत्रमा माग गरेका छन् । रासस