
काठमाडौं, १६ फागुन । पूर्व उपप्रधानमन्त्री तथा नेपाली कांग्रेसका महामन्त्री प्रकाशमान सिंहले आइतबार एक कार्यक्रमबीच नेपाली समाज टेक्सास (एनएसटी) तथा नेपाली जनसम्पर्क समिति अमेरिकाद्धारा निर्माण गर्न लागिएको भूकम्पबाट प्रभावित राजधानीको गागलफेदिस्थित हर्ष निम्न माध्यमिक विद्यालय भवनको शिलान्यास गर्नुभएको छ ।
शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री सिंहले महाभूकम्पका कारण ध्वस्त भएका भौतिक पूर्वाधारहरुको पुर्ननिर्माण कार्य सन्तोषजनक रुपमा अघि बढ्न नसकेको बताउनुभयो ।
पुर्ननिर्माण प्राधिकरणको अहिले सम्मको काम उत्साहजनक नभएको भन्दै महामन्त्री सिंहले प्राधिकरणले कसैलाई काखापाखा नगरी कार्य सम्पादन गर्नुपर्ने बताउनुभयो ।
नेपाली जनसम्पर्क समिति अमेरिकाका अध्यक्ष आनन्द विष्टले भूकम्पका कारण क्षति भएका देशका विभिन्न भागका भौतिक पूर्वाधारहरुको पुर्ननिर्माणमा सहयोग गरिरहने प्रतिबद्धता जनाउनुभयो ।
विद्यालयका प्रधानाध्यापक प्रधुम्न खड्का, व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्रबहादुर खड्का लगायतले विद्यालयका लागि नेपाली समाज टेक्सास तथा नेपाली जनसम्पर्क समिति अमेरिकाको तर्फबाट आर्थिक सहयोग ल्याउन महत्वपूर्ण भूमिका खेलेकोमा नेपाली कांग्रेसका युवा नेता हरिबोल भण्डारीको प्रशंसा गर्नु भएको थियो ।
राजधानीको गोकर्णेश्वर नगरपालिका ९काठमाडौं क्षेत्र नम्बर–३० का स्थायी बासिन्दा भण्डारी नेपाली जनसम्पर्क समिति अमेरिकाका केन्द्रीय सदस्य हुनुहुन्छ । नेपाली कांग्रेसको आसन्न तेह्रौं महाधिवेशनका लागि भएको क्षेत्रीय अधिवेशनमा सबैभन्दा बढी मत हासिल गर्दै भण्डारी महासमिति सदस्यमा निर्वाचत हुनु भएको छ ।
यसैबीच नेपाली जनसम्पर्क समिति अमेरिकाका वरिष्ठ उपाध्यक्ष धर्मराज श्रेष्ठले महाभूकम्पमा परी अभिभावक गुमाएका गागलफेदिका बालक सौगात तामाङलाई सहयोग स्वरुप २० हजार रुपैया प्रदान गर्नु भएको छ ।
महाभूकम्प लगत्तै पनि श्रेष्ठले तामाङलाई सहयोग स्वरुप नगद १५ हजार रुपैया प्रदान गर्नु भएको थियो । भवन शिलान्यास कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सभासद् अम्बिका बस्नेत, सभासद् दीपक कुइँकेल सहित काठमाडौं क्षेत्र नम्बर दुई र तीनका नेता कार्यकर्ता तथा स्थानीय बासिन्दाहरुको बाक्लो उपस्थिति थियो ।












प्रतिक्रिया