
प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको कार्यतालिका सार्वजनिक भएको छ । विदेश भ्रमण भारतबाट हुने या अन्यत्रबाट भन्नेमा केही दिन अघिसम्म बहस हुँदै आए पनि अन्ततः प्रधानमन्त्रीले आफ्नो पहिलो भ्रमण भारतबाटै गर्ने तय गर्नुभएको छ । प्रधानमन्त्रीको आसन्न भारत भ्रमणलाई लिएर विभिन्न टिकाटिप्पणी पनि भइरहेका छन् । प्रधानमन्त्रीको भ्रमणको चाँजो मिलाउन अर्थमन्त्रीसमेत रहेका ओलीका विश्वासपात्र विष्णु पौडेल भर्खर भारत भ्रमणमा गएर फर्किनुभएको छ । सरकार प्रमुखको भ्रमणको तयारीका लागि मन्त्रिपरिषद्का सदस्य पहिले नै भ्रमणमा जानुलाई सामान्य रुपमा लिने गरिन्छ । सामान्यतः सरकार प्रमुखको विदेश भ्रमण अघि परराष्ट्रमन्त्रीले त्यसको तयारीका लागि विदेश जाने प्रचलन छ । तर यस पटक संयुक्त सरकार भएकाले प्रधानमन्त्रीले आफ्ना विश्वासपात्रका रुपमा अर्थमन्त्रीलाई तयारी भ्रमणमा पठाए पनि त्यसलाई अन्यथा लिनु हुँदैन । अझ नेपालको हकमा कुरा गर्दा यसअघि पराराष्ट्र मन्त्रालयसमेत सम्हालेका उपप्रधानमन्त्री समेत रहेका राप्रपा नेपालका अध्यक्ष कमल थापाले दुई पटक भारत भ्रमण गरिसक्नुभएको छ । यो अवस्थामा एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीको भारत भ्रमण अघि पार्टीका उपमहासचिव समेत रहेका पौडेलको भ्रमणलाई अतिरञ्जित गर्नु जरुरी देखिँदैन ।
प्रधानमन्त्री ओलीको भारत भ्रमणलाई कसरी अर्थपूर्ण बनाउन सकिन्छ त्यसतर्फ वहस केन्द्रीत हुनु जरुरी छ । प्रधानमन्त्री सबैभन्दा पहिला भारत जानु उपयुक्त छ या छैन विषय एकातर्फ छ । तर अव प्रधानमन्त्री भारत जाने निश्चित भइसकेपछि भ्रमणलाई फलदायी बनाउने विषयमा छलफल केन्द्रित गर्नुपर्ने हुन्छ ।
संविधान निर्माणदेखि वर्तमान सरकार गठनको तहसम्म भारतको असन्तुष्टिको तुष गडेको अवस्थामा के साँच्चिकै प्रधानमन्त्रीका लागि भारत भ्रमण गर्ने वातावरण बनिसकेको थियो त ? मुख्य प्रश्न यहाँ केन्द्रीत हुनु आवश्यक छ । यसतर्फ केन्द्रीत भएर गर्ने छलफलले प्रधानमन्त्रीको भ्रमणलाई कसरी फलदायी बनाउने भन्ने मुद्दालाई सम्वोधन गर्न सक्दछ । देशले छिमेकी फेर्न सक्दैन । अझ नेपालको हकमा इतिहासदेखिनै भारतसँग धेरै किसिमको सम्बन्ध रही आएको देखिन्छ । तीनतर्फ भारतीय सिमा जोडिएको नेपालका लागि भूराजनीतिक हिसाबले समेत भारतसँगको सम्बन्ध अन्योन्याश्रित छ । त्यसो हो भने के भारतसँग नेपालको सम्वन्ध कुन धरातलीय यर्थातमा आधारित रहने त्यो महत्वको विषय हुनुपर्दछ । प्रधानमन्त्रीले पहिलो भ्रमण भारतबाट गर्नै हुँदैन भन्ने अडानले सस्तो लोकप्रियता त आर्जन होला तर किन नगर्ने त्यसको उत्तर पनि सँगै खोजिनु जरुरी छ ।
कहाँबाट भ्रमण सुरु गर्ने, कहिले गर्ने, कति दिन बस्ने, को–को जाने यी विषय आन्तरिक हुन् । तर मुख्य कुरा भ्रमण किन गर्ने ? यो महत्वपूर्ण प्रश्न हो । विगतमा सरकार प्रमुख पनि जान्थे अहिलेको पनि जानुपर्दछ भन्ने मान्यता राख्ने हो भने कुरा फरक छ । नत्र भ्रमण किन गर्ने, भारतको सरकार प्रमुख वा अरु देशका सरकार प्रमुख नेपाल किन नआउने हाम्रा सरकार प्रमुख पहिला जानै पर्ने किन ? गएर के गर्ने, देशको हितमा के विषय उठाउने ? नजाँदा के हुन्छ ? जाँदा के फाइदा हुन्छ । गएर के विग्रन्छ ? यसतर्फ अध्ययन गरिनु आवश्यक छ ।
सरकार प्रमुखको भ्रमण किन र के का लागि ? भ्रमणपछिको उपलब्धी के हुन्छ ? यी र यस्ता विषयमा वहस जरुरी छ । सरकार प्रमुखको भ्रमण अघि निकै मसिनो गरी हरेक विषयमा छलफल चलाइनु आवश्यक छ । परम्परागत ढर्राबाट केवल औपचारिकता निभाउने वहानामा छलफल गरिनु वा एजेन्डा सार्वजनिक गरिनुले किमार्थ देशको हित गर्न सक्दैन । जाँदा एउटा जानकारी गराउने, फर्कंदा वा फर्किसकेपछि समयको कालखण्डसँगै अरुनै सहमतिका विषय सार्वजनिक हुने विगतको दृष्टान्त नदोहोरिने अवस्थामा बढी ध्यान केन्द्रीत हुनुपर्दछ । सरकार प्रमुखको भ्रमणले देशको महत्व बोकेको हुन्छ, जनताको आशा जोडिएको हुन्छ यसर्थ जनताको अपेक्षा अनुरुप जनमतको आधारमा विदेश भ्रमणका एजेण्डा तय गरिनु आवश्यक छ ।
संविधान निर्माण र सरकार गठनका चरणमा राष्ट्रियताको कित्तामा उभिएको देखिएका ओलीको राष्ट्रियताको मुल्याकंनको घडी पनि आएको छ । भ्रमणका क्रममा हुने सहमतिले दूरगामी प्रभाव पार्नेतर्फ सचेत भएर देश अनुकुलको निर्णय गर्न सक्ने सामथ्र्य प्रधानमन्त्री ओलीमा देखिनु जरुरी छ । पछिल्लो समय सरकारलाई असहयोग गर्ने गरी भएको अघोषित नाकाबन्दीको साँघुरो खुलापनसँगै ओलीको भ्रमण तय भएको हो ।
भारतले अघोषित रुपमा नाकाबन्दी गरी संविधानसभाले जारी गरेको संविधानको स्वागत गरेन भन्ने असन्तुष्टि एकातर्फ छँदैछ । नकाबन्दी खुलोस् अनि भ्रमण गर्छु भन्ने प्रधानमन्त्रीको अडान सामु केही झुकेरै भए पनि भारतले स्वतःस्फूर्त रुपमा नाकाबन्दी हटाएको छ । तर सरकार प्रमुखको भ्रमणलाई साँघुरो दायरामा संकुचित गर्नु उचित हुँदैन । यो भ्रमणलाई विगतका सरकार प्रमुखहरुले गर्ने भ्रमणकै निरन्तरताका रुपमा लिनु पनि उपयुक्त देखिँदैन । अब प्रधानमन्त्री ओलीले आफ्नो भ्रमणलाई फलदायी बनाउनेतर्फ बढी ध्यान केन्द्रित गर्नुपर्छ ।
विशेषगरी विकसित देशका सरकार प्रमुख या राष्ट्र प्रमुखले अन्य देशको भ्रमण गर्नुअघि हरेक विषयमा लामो अध्ययन गरेका हुन्छन् । आन्तरिक तयारी पूरा गरेर ठोस एजेन्डा तय भएपछि मात्र विशिष्ट व्यक्तिहरुको भ्रमण हुने गर्दछ । त्यसमाथि नेपालजस्तो परनिर्भर मुलुकमा विदेशीहरुले चलखेल गर्ने अवसरको खोजी गरिरहेका हुन्छन् । यस्तै अवसरको खोजी भइरहेका बेला प्रधानमन्त्रीले पर्याप्त छलफल र विना एजेन्डा भारत भ्रमणमा गए त्यो फलदायी नहुन पनि सक्छ । सार्वभौमसत्ता मुलुकको कार्यकारी प्रमुखले एउटा नाका खुल्यो अब भारत भ्रमणमा जान्छु भन्दै हिँड्नुअघि त्यसको पूर्ण र विस्तृत तयारी गर्नुपर्छ । एउटा नाका खुल्यो, हामीले भनेको भयो भन्दै हौसिएर भ्रमणको कार्यतालिका बनाउनु उपयुक्त हुँदैन । नाका खुल्ने र खोल्ने विषयलाई भ्रमणसँग जोडिरहनुको कुनै औचित्य हुँदैन ।
दुई देश बीच लडाई हुँदासमेत सरकार प्रमुखहरुको भ्रमण भएको पाइन्छ । मुख्य कुरा भ्रमण किन गर्ने, के का लागि गर्ने, दुई देशको हितमा के गर्न सकिन्छ, लेनदेनमा समानता कत्तिको रहन्छ, भ्रमण गराउने देशको आशा के मा छ ? यी र यस्ता विषयमा बढी छलफल हुनु आवश्यक छ । होइन भने भ्रमण गर्नु प¥यो, ढिलो भयो वा चाँडो भयो, बेला भएकै छैन, वातावरण बनेको छैनलगायतका विषयले बढी महत्व पाउँदा मुख्य विषय ओझेलमा पर्ने गर्दछन् । विगतका सरकार प्रमुखहरुले पनि भारतबाट भ्रमण शुरु गरेका थिए त्यही परम्परा दोहो¥याउनुपर्छ वा भारतबाट भ्रमण नगरे राष्ट्रिय नेता भइन्छ अथवा भारत भ्रमणमा नजाँदा उत्तम हुन्छ, वातावरण बनेको छ अब जानुपर्दछ सम्बन्ध सुध्रन्छ भन्ने विषय अहम् हुँदै होइनन् ।
राष्ट्रियतालाई केवल छिमेकीसँगको सम्बन्धमा परिभाषित गरिनु हुँदैन, न त त्यसलाई नजरअन्दाज नै । मुख्य समदुरीको सम्बन्ध स्थापित गर्न सक्नु अहिलेको आवश्यकताको हो । अहिलेको संसारमा भूगोल मात्र राष्ट्रियता हुन सक्दैन । आत्मनिर्भरतामा आधारित अर्थ राजनीतिक अवस्था नै राष्ट्रियता हो– जो देशको सरकारको भूमिकामा निर्भर हुन्छ । त्यो आत्मनिर्भरताका आधारमा स्वाधीन अर्थतन्त्र निर्माण गर्दै समृद्ध र सवल राष्ट्र बनाउने खालको देश अनुकुलको सहमति गर्ने सामथ्र्य बोक्ने नेता मात्रै राष्ट्रवादी नेता बन्न सक्छ । त्यो सरकार प्रमुख मात्रै जनमुखी प्रधानमन्त्री ठहर्न सक्दछ । सरकार निर्माण गर्दाको सार्वजनिक अभिव्यक्ति, जनता माझ गरिएका प्रतिबद्धताको कार्यान्वयन गर्न सक्ने अवसरलाई व्यवहारतः लागु गर्ने दिशातर्फ जाँदा भ्रमण जुन देशबाट गर्दा पनि हुन्छ मुख्य कुरा के गर्ने भन्ने निक्र्यौल पहिला हुनुपर्दछ ।















प्रतिक्रिया