
कञ्चनपुर, ३ फागुन । कञ्चनपुरको कृष्णपुर नगरपालिका क्षेत्रका खुला दिसापिसाव हुने ठाउँमा पहेंलो झण्डा गाड्ने कार्य सुरु गरिएको छ ।
ज्वलनशील सहभागितामूलक ग्रामीण लेखाजोखा कार्यक्रमअन्तर्गत खुला दिसापिसाव हुने ठाउँको पहिचान गरी पहेंलो झण्डा गाड्ने कार्य सुरु गरिएको हो ।
नगरपालिकाका प्रत्येक वडामा गठन गरिएका सरसफाइ समिति र स्थानीय क्लबका प्रतिनिधिले खुला ठाउँमा हुने दिसापिसावको कार्य रोक्न सो अभियान सञ्चालन गरेको नगरपालिकाका कर्मचारी प्रेमबहादुर विष्टले बताउनुभयो ।
“वडा क्षेत्रका खुला दिसापिसाव हुने ठाउँको पहिचान गर्ने र त्यस्ता ठाउँका बासिन्दालाई खुला दिसापिसावका कारण हुने सङ्क्रमणबारे जानकारी दिई सचेत पार्ने कार्य हुँदै आएको छ” उहाँले भन्नुभयो ।
झण्डा गाडिएका क्षेत्रका बासिन्दासँग छलफल, अन्तरक्रिया र बैठकका माध्यमबाट खुला दिसापिसावले पु¥याउने दीर्धकालीन हानीबारे जानकारी गराई शौचालय निर्माण गर्न लगाउने कार्य हँुदै आएको छ ।
सम्झाउँदा बुझाउँदा समेत अटेर गरी खुला ठाउँमा दिसापिसाव गर्ने बासिन्दालाई सरसफाइ समिति र क्बलका पदाधिकारीले शौच गर्ने ठाउँमै गएर सिट्ठी बजाएर र अन्य बासिन्दालाई त्यस ठाउँमा भेला गराएर दबाब समेत दिँदै आएका छन् ।
फागुन मसान्तभित्रै नगरपालिकालाई खुला दिसापिसावमुक्त घोषणा गर्न दबाबमूलक कार्यक्रम सुरु गरिएको हो ।
दबाबमूलक कार्यक्रमअन्तर्गत सरसफाइ परिचयपत्रका आधारमा मात्रै नगरपालिकाले सेवा उपलब्ध गराउने व्यवस्था गरेको छ । नगरपालिका क्षेत्रमा बासोवास गर्ने सात हजार घरघुरीमध्ये चार हजार घरघुरीले मात्रै शौचालय निर्माण गरी प्रयोग गर्दैआएका छन् ।
शौचालय नभएका तीन हजार घरघुरीका बासिन्दाको शौचालय निर्माणमा पहुँच पु¥याउन सचेतनामूलक कार्यक्रम सुरु गरेको छ । रासस












प्रतिक्रिया