१५ कार्तिक २०८३, आइतबार

मोटरसाईकल गायब हुँदा पनि उर्लाबारीमा प्रहरीको तमाशा !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepal-Police

– सुमन घिमिरे
मोरङ, ३ फागुन । मोटरसाइकल चोरी गर्ने व्यक्तिको पहिचान खुलेपनि प्रहरीले पक्राउ गर्न आनाकानी गरेको एक पीडितले बताएका छन् ।

उर्लाबारी–७ मंगलबारेका नवराज सापकोटाले आफ्नो घरबाटै गत पुस ७ गते मोटरसाइकल चोरी भएको प्रहरीमा जाहेरी दिएको बताउँदै प्रहरीले चोरीमा संलग्न गिरोहलाई पक्राउ गरेपनि आफ्नो मोटरसाइकल भने गायव भइरहेको बताउनुभयो । मधुमल्ला–९ का शुक्र लिम्बू पक्राउ परेपछि उनले इलाम चुलाचुलीका भेन्डम भनिने व्यक्तिलाई आफ्नो मोटरसाइकल चोरेर बिक्री गरेको खुलासा गरेपनि भेन्डमलाई पक्राउ गरेर मोटरसाइकल उपलब्ध नगराएको भन्दै सापकोटाले प्रहरीप्रति आक्रोश पोख्नुभयो ।

सोमबार विहान पत्रकार सम्मेलन गर्दै उहाँले भन्नुभयो, ‘अपराधीको हुलिया र वतन स्पष्ट खुल्दापनि प्रहरीले खोजी कार्यमा किन चासो दिएन, बुझ्न सकिएन ।’ सापकोटाले उर्लाबारी प्रहरीको भूमिका सन्देहपूर्ण रहेको आरोप लगाउनुभयो ।

इलाका प्रहरी कार्यालय उर्लाबारीले विभिन्न समयमा पक्राउ गरेका मोटरसाइलसहित चोरी गर्ने एक गिरोहलाई गत पुस १५ गते सार्वजनिक गरेको थियो । विगत एक बर्षदेखि पूर्वको बेलबारी, पथरी, उर्लाबारी, दमक क्षेत्रमा संगठित रुपमा मोटरसाइकल चोरी गर्दै आएको गिरोहलाई पक्राउ गरेपनि सापकोटाको मोटरसाइकल भने प्रहरीले फेला पार्न सकेको छैन । आफ्नो बा ५२ प २१६८ नम्बरको निलो रंगको पल्सर मोटरसाइकल दमकतिर कुदाइरहेपनि प्रहरीले नियन्त्रणमा नलिएको सापकोटाले गुनासो गर्नुभयो ।

प्रहरीमा पटक–पटक बुझ्दा ‘हाम्रो जनशक्ति कम छ तपाई आफैं खोज्नुहोस्’ भनेर प्रहरी निरीक्षक राजकुमार राई गैर जिम्मेवार कुरा गरेको सापकोटाले बताउनुभयो ।

यस विषयमा इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक राजकुमार राईले सापकोटाले लगाएको आरोप आधारहीन भएको बताउनुभयो । दिनरात चोरी गर्ने गिरोहकै खोजी गरिरहेको र कतिलाई पक्राउ पनि गरिसकिएको जानकारी दिदैं राईले भन्नुभयो, ‘प्रहरीले आँखा चिम्लिएको अवस्था होइन, ढिलाचाँडो अपराधी पक्राउ पर्छन् ।’ सापकोटाले मोटरसाइकल चोरिएकै भोलिपल्ट उर्लाबारी प्रहरीमा जाहेरी दिएका थिए ।

मोटरसाइकल चोरीमा संलग्न गिरोहले पूर्वी तराईका जिल्लाबाट चोरी गरी पहाडी जिल्लाको ग्रामीण बस्तीसम्म पुर्याएर सस्तो मूल्यमा बिक्री गर्दै आएको प्रहरीको भनाई छ ।