
काठमाडौं, २९ माघ । मधेसका माग सम्बोधनका विषयमा लामो समयपछि प्रमुख तीन दल र मधेसी मोर्चाका नेताहरुको बैठक बालुवाटारमा जारी छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ९ बजेदेखि सुरु भएको बैठकमा राजनीतिक संयन्त्र बनाउने विषयमा छलफल भइरहेको छ । तराई मधेस सद्भावना पार्टीका वरिष्ठ नेता तथा उपाध्यक्ष रामनरेश रायका अनुसार राजनीतिक संयन्त्रका विषयमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले मधेसी मोर्चाका कार्यदल सदस्यहरुलाई बोलाउनु भएको छ । उहाँले आफ्नो भारत भ्रमण अगाडि मोर्चासँग एकखालको सहमति गर्ने प्रयासका रुपमा आजको बैठकलाई लिइएको छ ।
प्रधानमन्त्रीले मधेसी मोर्चाको माग र सीमाङ्कनको विषयलाई सम्बोधन गर्न कसरी अगाडि बढ्ने, उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउनेलगायतका विषयमा परामर्श गर्न कांग्रेस, एमाले, एमाओवादी र मधेसी मोर्चाका दोस्रो तहका नेताहरुको बैठक बोलाउनु भएको हो ।
आजको बैठकबाट आउने सुझाव र सल्लाहअनुसार प्रधानमन्त्री ओलीले फेरि चार राजनीतिक शक्तिका शीर्ष नेताहरुको बैठक बोलाइ ठोस निर्णय गर्ने ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमालले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘प्रमुख तीन दल र मधेसी मोर्चाको कार्यदलका सदस्यहरुलाई मात्रै बैठकमा बोलाइएको छ । आजको छलफलपछि सकेसम्म आजै उच्चस्तरीय राजनीतिक कार्यदल बनाउने तयारी भएको छ ।’
मधेस आन्दोलन र नाकाको धर्ना फिर्ता भएसँग सरकारले प्रमुख चार राजनीतिक शक्तिको बैठक बोलाएको थिएन । लामो समयपछि यो बैठक बस्न लागेको हो ।















प्रतिक्रिया