
काठमाडौं, २६ माघ । नेपाली कांँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री सुशील कोइरालाको निधनमा शोक प्रकट गर्न भारत सरकारका उच्च प्रतिनिधि काठमाडौं आइपुगेका छन् ।
केही बेरअगाडि भारतीय विदेशमन्त्री सुषमा स्वराज दिवङ्गत नेता कोइरालाप्रति श्रद्धासुमन अर्पण गर्न काठमाडौं ओर्लिनुभएको हो । विदेशमन्त्री स्वराजले नेता कोइरालाको पार्थिव शरीर राखिएको स्थल दशरथ रङ्गशाला पुगेर श्रद्धाञ्जलि अर्पण गर्ने कार्यक्रम छ । उहाँसँगै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका सुरक्षा मामिला सल्लाहकार अजित डोबाल पनि आउनुभएको छ ।
स्वराज र डोबाल सहित केही भारतीय सांसदहरुपनि काठमाडौं आउनुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ । त्रिभुवन विमानस्थबाट भारतीय टोली सिधै दशरथ रंगशाला पुगेको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीसँग आजै साँझ स्वराजले राष्ट्रपति कार्यालय शीतल निवासमा शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता ताराप्रसाद पोखरेलका अनुसार स्वराजले प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधानमन्त्री एवं कमल थापासँग पनि आजै साँझ बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम छ ।
नेपाली काँग्रेसका शीर्ष नेतृत्वसँग छलफल गरेर आजै साँझ भारतीय विदेशमन्त्री नयाँदिल्ली फर्कने बताइएको छ ।
















प्रतिक्रिया