
काठमाडौं, २१ माघ । पछिल्लो समय अपराध नियन्त्रणमा सक्रिय बनेको महानगरीय प्रहरी परिसर ललितपुरले दुई युवालाई खतरनाक बस्तुसहित पक्राउ गरेको छ ।
प्रहरी टोलीले अवैध लागुऔषधको कारोबार गर्नेहरु युवाहरुलाई खतरनाक लागु पदार्थसहित बुधबार ललितपुर-२० को सडकबाट पक्राउ गरेको ललितपुर प्रहरी एसएसपी पिताम्बर अधिकारीले जानकारी दिनुभयो ।

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक होक्से- ९ घर भएका कृतन लामा र भिमखोरी- ५ घर भएका सरोज शिवभक्ती रहेका छन् । झोला बोकी शंकास्पद रुपले हिंडिरहेको अवस्थामा परिसरबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिएर झोला तथा शरीरको खानतलासी लिँदा खतरनाक लागुपदार्थ भेटिएको एसएसपी अधिकारीले बताए ।
खानतलासीका क्रममा सरोज शिवभक्तिको झोलाबाट फेनारगन एम्पल ११६ थान, नुफिन एम्पल ११६ थान, डाईजापाम एम्पल ११६ थान, लोकोजेसिक एम्पल १०० थान, १६ थान, नाईट्राजेपाम ट्याव्लेट ६ थान र २२ हजार ६५० नगद फेला परेको थियो भने कृतन लामाको साथबाट ७५ हजार ८३५ रुपैयाँ फेला परेको थियो ।
ठूलो परिमाणका लागुपदार्थ र रकम भेटिएपछि प्रहरी टोलीले ललितपुर–२० बस्ने कृतन लामाको डेरामा समेत छापा हानेको थियो । उनको कोठाबाट स्पीकर भित्रबाट ६० थान, नुफिन एम्पल ५० थान, डाईजापाम एम्पल ९३ थान, एभिल एम्पल ४८ थान समेत फेला पारेको र बरामद गरिएको परिसरले जनाएको छ ।
एसएसपी अधिकारीका अनुसार पक्राउ परेका दुबै जनामाथि आवश्यक अनुसन्धान भइरहेको छ ।












प्रतिक्रिया