
बेङ्घाजी, (लिबिया), १७ माघ । यही जनवरी २७ गते लिबियाको पूर्वी सहर टोब्रुकबाट अपहरणमा परेका अन्तर्राष्ट्रिय समुदायबाट मान्यता प्राप्त लिबियाली संसदका एक सांसद शनिबार सकुशल रिहा हुनुभएको छ ।
सांसद मोहम्मद रैयदको रिहाईपछि आफूलाई अपहरण मुक्त गराउन मध्यस्थता गर्ने उच्चपदस्थ अधिकारी, जनजाति नेताहरुलगायत लिबियाली सुरक्षाकर्मीलाई धन्यवाद दिनुभएको छ ।
रैयदले आफू सकुशल रहेको पनि बताउनुभएको छ ।
संसदमा सपथ खाएपछि आफ्नो घर फर्किन विमानस्थल जाँदै गर्दा उहाँलाई अपहरण गरिएको थियो ।
रैयदलाई अपहरण गरी लगेका एक अपहरणकारीले आफ्नो लागुऔषध काण्डमा थुनामा रहेका दुई छोरालाई राखिएका मिस्रातास्थित जेलबाट ट्रिपोली सार्न माग गरेको बताइएको छ ।
रैयद सन् २०१४ मा संसद सदस्यका रुपमा निर्वाचित भए पनि अघिल्लो हप्ताको सुरुसम्म संसद बहिष्कार गर्दै आएका थिए ।
सन् २०११ मा मोहमर गद्दाफीलाई सत्ताच्युत गरिएपछि यहाँको राजनीतिक अवस्था अस्थिर रहेको र राज्यमा व्यापक हिंसात्मक गतिविधि देखिँदै आएका छन् ।
सन् २०१४ को ग्रीष्मकालदेखि त झन समानान्तर प्रशासन खडा गरी दुवैले आफ्नो सरकार आधिकारिक भएको बताउँदै आएका छन् ।
त्रिपोलीमा मोहमर गद्दाफीको समर्थक समूहको मिलिसियाको प्रभाव रहँदै आएको छ भने अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रशासनको पूर्वी क्षेत्रमा प्रभाव रहँदै आएको छ ।
विश्व समुदायबाट समर्थन प्राप्त संसदले संयुक्त राष्ट्रसङ्घको प्रस्तावमा संयुक्त सरकार बनाउने कुरालाई अस्वीकार गर्दै आएको छ तर, गद्दाफी समूह संयुक्त सरकार निर्माणमा सहमत भएको छ । रासस/एएफपी















प्रतिक्रिया