
काठमाडौँ, १२ माघ । अर्थमन्त्री विष्णु पौडेलले नेपालको संविधान, पहिलो संशोधनले संविधान जारी गर्दाका अवस्थामा देखिएका सबै गुनासा र विरोधलाई सम्बोधन गरेकाले नेपाल–भारत सीमानाका अवरोध हट्ने विश्वास व्यक्त गर्नुभएको छ ।
चौसठ्ठी औँ अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा भन्सार विभागले आज यहाँ आयोजना गरेको कार्यक्रमको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले अधिकतम लचकताका साथ संविधानको संशोधन भएकाले समस्या सुल्झँदै जाने बताउनुभयो ।
अर्थमन्त्री पौडेलले भन्नुभयो, “संविधान जारी हुँदाका अवस्थाका सबै गुनासा एवम् विरोधलाई सम्बोधन गरिएको छ, त्यसले सबैतिर सकारात्मक वातावरण सिर्जना गरेको छ, अब भन्सार नाकामा देखिएका अवरोध पनि अन्त्य हुनेछन् ।”
तराई मधेसमा जारी आन्दोलन र भन्सार नाकामा देखिएका अवरोधका कारणले राजस्वमा रु ५२ अर्बको कमी आएको उल्लेख गर्दै उहाँले राजस्व परिचालनको न्यूनतम् पूरा गर्न वैकल्पिक उपाय अपनाउनुपर्ने बताउनुभयो ।
अर्थमन्त्री पौडेलले भन्नुभयो, “राजस्वमा परेको समस्या छिटोभन्दा छिटो निको पार्नुपर्छ, त्यसका लागि सबैको सहयोग आवश्यक छ, यस विषयमा अर्थ मन्त्रालयले विशेष ध्यान दिनेछ ।”
देशको अर्थतन्त्रमा समस्याको चाङ लगाउने प्रवृत्तिको अन्त्य गर्दै समाधानको बाटो पहिल्याउने दिशातर्फ लाग्नुपर्नेमा जोड दिँदै उहाँले राजस्व बोर्ड गठनजस्ता विषयलाई अन्त्य गर्नका लागि आवश्यक छलफल गरेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।
राजनीतिक नेतृत्वले राष्ट्रसेवक कर्मचारीलाई विश्वास गर्नुपर्ने र कर्मचारीले पनि सोहीअनुसारको जिम्मेवारी पूरा गर्नुपर्नेमा जोड दिँदै अर्थमन्त्री पौडेलले विश्वमा प्रयोग भएका उच्चतम् प्रविधिको प्रयोगबाट आउने समस्यालाई समाधान गरेर गाडी बढ्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा उहाँले भन्सार स्मारिका २०६२, अटोमेटेड सिस्टम फर कस्टुम डाटा वल्र्ड (आसिकुडा वल्र्ड) प्लसप्लसको सुरुवात, धरौती व्यवस्थापन प्रणालीको सुरुवात, इन्टरनेट प्रोटोकल (आइपी) क्यामराको विस्तारको सुरुवात, रेभिन्यु एक्सपिडिसनको सुरुवात एवम् भन्सार गीतको लोकार्पण गर्नुभयो ।
त्यसैगरी अर्थ राज्यमन्त्री दामोदर भण्डारीले उद्योग वाणिज्य महासङ्घका अध्यक्ष पशुपति मुरारका र विभागका पूर्व महानिर्देशक टीकादत्त निरौला र रणबहादुर श्रेष्ठ र विभागका सर्वोत्कृष्ठ कर्मचारी रामदत्त भट्टलाई सम्मान गर्नुभयो भने राजस्व सचिव राजन खनालले विश्व भन्सार दिवसका अवसरमा विश्व भन्सार सङ्गठनले प्रदान गर्ने उत्कृष्ट कर्मचारी एवम् भन्सार विभागका कर्मचारीलाई सम्मान गर्नुभयो ।
त्यसैगरी सूचना आयोग प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटाले भन्सारलाई पूर्णरुपमा स्वचालित प्रणालीमा विकास गरिनुपर्नेमा जोड दिँदै भन्सारलाई अधिकार सम्पन्न बनाउनुपर्ने बताउनुभयो ।
विश्व भन्सार सङ्गठनले सन् १९५३ देखि जनवरी २६ लाई विश्व भन्सार दिवस मनाउँदै आएको छ भने नेपालले २०५२ सालदेखि भन्सार दिवस मनाउँदै आएको छ ।
यस वर्ष पनि विभागले विश्व भन्सार सङ्गठनले मान्यताअनुसार सूचना प्रविधिको प्रयोगबाट भन्सारलाई अगाडि बढाउन लागिएको विभागका महानिर्देशक शिशिरकुमार ढुङ्गानाले बताउनुभयो । रासस















प्रतिक्रिया