
– नरेश केसी
लुम्बिनी, ११ माघ । महामानव गौतमबुद्धको जन्मस्थल लुम्बिनीको अवलोकन गर्न वर्षेनी लाखौ मानिसहरु देश विदेशबाट आउने गर्दछन् ।
लुम्बिनीको दर्शन गर्न आउनेहरुले गच्छे अनुसार लुम्बिनी परिसरमा राखिएका दानपत्रमा भेटी समेत चढाउने गर्दछन् । स्वइच्छाले भेटी चढाउने क्रम करिब साढे पच्चिस सय वर्ष अगाडीबाट नै रहदै आएको थियो तर त्यसको लेखाजोखा पछि सम्म हुन सकेन् ।
दानपत्रमा लुम्बिनी आउने दर्शानार्थीले चढाउने भेटी वर्षेनी कत्ति उठ्थ्यो कसैलाई पत्तो नै हुदैन्थ्यो । तर पछिल्लो ४ वर्ष यता त्यसको लेखाजोखा हुन थाल्यो । लेखाजोखा त हुन थाल्यो तर त्यो पनि मनलाग्दी ढंगले ।
लुम्बिनीमा आउने पदाधिकारीले आफु अनुकुल दानपत्र खोलाएर गन्न लगाउने र आफ्नै कर्मचारी मार्फत बैंक पठाउने गर्न थाले । त्यसैबीचमा गत साउन ताका भेटी गन्ने कार्यमा खटिने कर्मचारीले एकैपटकमा हजारौं रकम लुकाउने गरेको रहस्य बाहिर आयो ।
लुम्बिनी विकास कोषका सदस्य सचिव अजितमान तामाङले आफू निकटका केही कर्मचारीलाई सो कार्यमा खटाउने गरेको र ती कर्मचारी पैसा गन्न जादा लामो लामो ट्रयाकसुट लगाएर जाने अनि फर्केर आउदा सो सुटभरी पैसाको विटो बोकेर आउने गर्दछन् भन्ने लुम्बिनी विकास कोषकै कर्मचारीबाट बाहिर आएको थियो ।
सो घटनाले नेपालका सबै सन्चार माध्यममाा छाएपछि विकास कोषमा खैलाबैला नै मच्चियो । त्यतिबेला देखी मच्चीएको खैलाबैला भने आइतबारदेखी सामन्यतः साम्य भएको छ ।
आइतबार विकास कोषले गत ७ महिनादेखी विवादको कारण नगनेको भेटी गन्न थालेको छ । भेटी गन्नेबेलामा सुरक्षाकर्मी राख्ने की नराख्ने भन्ने विषयमा विवाद हुदां धेरै समय सम्म लुम्बिनीमा खटिने सुरक्षाफौज र सदस्यसचिवबीच द्वन्द्व नै भयो ।
शसस्त्र प्रहरीले दानपत्र राखिएको क्षेत्र मायादेवी मन्दिर परिसरमा सुरक्षा प्रदान गर्न थालेपछि सदस्यसचिबले त्यसको घोर विरोध गरेका थिए । सदस्यसचिव तामांगकै विरोधको कारण ७ महिनासम्म हुन नसेको भेटीको गन्ती आइतबार भएको हो ।
लुम्बिनी विकास कोषका कोषाध्यक्ष ओम अर्याल, शसस्त्र प्रहरी बल लुम्बिनीका प्रमुख भरत कोइराला, इप्रका लुम्बिनीका प्रमुख दिलीपराज झा, बैंकका कर्मचारीको रोहबरमा मायादेवी मन्दिर भित्र रहेको मार्कर स्टोनको वरीपरीको भेटी गनिएको हो । मार्कर स्टोन वरीपरी दर्शानार्थीले चढाएको सो रकम आइतबार दिउसो २ बजेदेखी सांझ ७ बजेसम्म गन्ती भएको थियो । आइतबार गन्ती भएको रकम १२ लाख ३७ हजार रहेको बुझिएको छ ।
लुम्बिनीको मायादेवी मन्दिर भित्र मार्कर स्टोन छेऊमा एउटा र अशोका पिल्लर छेऊमा अर्को गरी २ वटा दानपत्र राखिएको छ । विगतका वर्षहरुमा त्यहांका दानपत्रपनि हराउने गरेका थिए । पछि शसस्त्र प्रहरीको सुरक्षा तैनाथी बढेपछि चोरी कार्य रोकीएको छ ।
सन् २०१४ मा भेटीबाट मात्रै करिब ७ करोड संकलन भएको थियो । सिजनको समयामा मासिक गन्ती गर्दा पनि ५० लाख सम्म भेटी संकलन भएको कोषका कोषाध्यक्ष ओम अर्यालले जनाएका छन् । कोषाध्यक्ष अर्यालका अनुसार पछिल्लो समय नाकाबन्दी र मधेस आन्दोलनका कारण दर्शानार्थिहरुको संख्यामा पनि कमी आएकोले त्यो दर घटेको जनाए ।
















प्रतिक्रिया