३१ आश्विन २०८३, शनिबार

भाषामै कांग्रेस र एमालेबीच विवाद, संसदको बैठक सुरू हुन सकेन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Samsad-bhawanकाठमाडौं, ९ माघ । संविधान संशोधनका विषयमा प्रमुख दलहरूबीच सहमति हुन नसक्दा संसदको बैठक अहिलेसम्म चल्न सकेको छैन । संविधान संशोधनको प्रस्तावमा दलहरूका बीच भाषालाई लिएर कांग्रेस, एमाले र एमाओवादीबीच विवाद भएको हो ।

नेपालको संविधान पहिलो संशोधन विधेयकमा सरकारले पेश गरेको संशोधनको प्रस्तावमा कांग्रेसले थप संशोधन प्रस्तावहरू दर्ता गराएपछि त्यसलाई कसरी सहमति गरी आजको बैठकबाट पारित गर्ने भन्ने अहिलेसम्म टुंगो लागेको छैन ।

अपरान्ह ३ बजेका लागि सभामुख ओनसरी घर्तीमगरले संसदको बैठक राख्दै बैठकको कार्यसूचि प्रकासित गरे पनि सत्तारुढ दल एमाले, एमाओवादी र कांग्रेसका प्रतिनिधि सम्मिलित कार्यदलको बैठकमा सहमति हुन नसक्दा संसदको बैठक ५ बजेसम्म पनि बस्न सकेको छैन ।

आन्दोलनरत मधेसी मोर्चाको मागसँगै कांग्रेसका मधेसबाट प्रतिनिधित्व गर्ने सदस्यहरुको माग अनुसार सरकारी विधेयकले सम्बोधन नहुने भन्दै कांग्रेसका नेता विमलेन्द्र निधि र फरमुल्लाह मन्सुरले छुट्टाछुट्टै धारामा फरक फरक संशोधन प्रस्ताव राख्दै त्यो प्रस्ताव पारित गर्न जोड दिइरहेका छन् ।

शनिबार बिहान भएको तीन दलको बैठक पछि संशोधन प्रस्तावको भाषा परिमार्जनका लागि सहमति गरी अन्तिम रुप दिन संसद सचिवालय सिंहदरबारमा कार्यदलका सदस्यहरुबीच अपरान्ह १२ः३० बजेदेखि बैठक चलिरहेको छ ।

सत्तारुढ दल खासगरी एमालेले विगतको सरकारले सबै दलको प्रतिबद्धता अनुसार संसदमा पेश गरेकै मूल विधेयक पारित गर्न जोड दिइरहेको छ भने कांग्रेसले त्यो अपूर्णभन्दै त्यसको पक्षमा मतदान गर्न नसकिने अडान लिइरहेका छन् ।

दलहरुबीच कुरा नमिलीरहेको अवस्थामा प्रमुख विपक्षी दल कांग्रेसले आफ्ना सबै सांसदहरुलाई अनिवार्य संसद भवन नयाँवानेश्वरमा उपस्थित हुन ह्विप जारी गरेपनि पछिल्लो समय सरकारको पक्षबाट आफ्नो प्रस्तावमा सहमति नजुटेसम्म संसदको हाजिरी पुस्तिकामा दस्तखत नगर्न निर्देशन दिएको छ।

पार्टी सभापति र मुख्य सचेतकबीचको परामर्श पश्चात मुख्य सचेतक चीनकाजी श्रेष्ठले विधेयकमा सहमति नभएसम्म कुनै पनि सदस्यले उपस्थिती पुस्तिकामा हाजिर नगर्न निर्देशन दिँदै यदि सहमति नभए आफूहरु आजको बैठकमा अनुपस्थित हुने जानकारी सांसदहरुसँगै सरकारलाई गराएका छन्।