३१ आश्विन २०८३, शनिबार

बझाङ्ग र अछाममा संस्थानको चामल बिक्री हुन सकेन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

chamal

– सिद्धराज भट्ट
धनगढी, ९ माघ । बजार मूल्य भन्दा महंँगो भएपछि नेपाल खाद्य संस्थानद्वारा बझाङ्ग र अछामलगायत जिल्लामा आपूर्ति गरिएको चामल बिक्री हुन सकेको छैन ।

चामल बिक्री हुन नसक्दा कतिपय क्षेत्रमा गत वर्षकै कोटामा आपूर्ति गरिएको चामल ती क्षेत्रका गोदाममा थन्किएर बिग्रिने अवस्थामा पुगेको छ ।
यद्यपि संस्थानका कर्मचारीले मौज्दात रहेको चामल दुई वर्षसम्म नबिग्रिने बताएका छन् । गत वर्षको कोटा मध्येको बझाङ्गको चैनपुरमा ४०० क्विन्टल, अछामको मङ्गलसेनमा एक हजार ५०० क्वीन्टल चामल बिक्री हुन नसकेको बताइएको छ ।

यस्तै बझाङ्गकै बिसौना, बैतडीको पुर्चौडी, मेलौली र कुला औमामा पनि गतवर्षकै कोटाको चामल बिक्री हुन नसकेर थन्किएको खाद्य संस्थान सेती अञ्चल कार्यालयका अधिकृत रणबहादुर ऐरले बताउनुभयो ।

चामल बिक्री हुन नसकेपछि बझाङ्गमा प्रतिकिलो ३७ रुपैयाँमा बिक्री मूल्य तोकिएको चामलको बिक्री मूल्य घटाएर ३४ रुपैंया ५० पु¥याइएको छ ।

गत वर्षकै कोटाको चामल मौज्दात रहेपछि यसवर्ष सरकारद्वारा स्वीकृत गरिएको कोटामध्येको चामल चैनपुर, मङ्गलसेन, दार्चुलाको पारी बगरमा आपूर्ति गरिएको छैन ।

यी क्षेत्रमा पनि संस्थानको बिक्री मूल्य भन्दा सस्तो मूल्यमा स्थानीय बजारमा चामल पाउन थालेपछि संस्थानको चामलको माग घटेको बताइएको छ । बजार क्षेत्रमा चामलको मूल्यप्रति किलो ३३ रुपैयाँ पर्ने गरेको बताइएको छ ।

खाद्यान्न अभाव हुने बाजुरा, बझाङ्ग, दार्चुला, हुम्लाको श्रीनगर, अछाम र बैतडी जिल्लाका विभिन्न स्थानमा नेपाल खाद्य संस्थान सेती अञ्चल कार्यालय मार्फत ढुवानी अनुदानमा चामल आपूर्ति गर्ने गरिएको छ ।
चालु वर्षमा यी क्षेत्रमा ढुवानी अनुदानमा ३२ हजार ८०० क्वीन्टल चामलको कोटा छुट्याइएकोमा अहिलेसम्म जम्मा पाँच हजार क्वीन्टल चामल मात्र आपूर्ति भएको छ ।

‘खाद्य संस्थानको चामलको मूल्य महंँगो र बजारको चामल सस्तो छ, अधिकृत ऐरले भन्नुभयो यसले गर्दा संस्थानको कारोबार घट्दै गएको छ ।‘
जनतालाई राहत दिने भन्दै ढुवानी अनुदानमा आपूर्ति गरिने नेपाल खाद्य संस्थानको चामल बजार भाउ भन्दा महंँगो हुन थालेपछि स्थानीयवासी कतिपयले चामल महंँगो भएको भन्दै विरोध गर्न थालेका छन् । रासस