३१ आश्विन २०८३, शनिबार

स्विटजरल्यान्डद्वारा रु तीन अर्ब अनुदान सहयोग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Swiss-flagकाठमाडौँ, ६ माघ । स्विटजरल्यान्ड सरकारले नेपाललाई करिब रु तीन अर्ब अनुदान सहायता उपलब्ध गराउने भएको छ ।

नेपालका २५ जिल्लामा शिक्षा, दिगो तथा प्रोत्साहनमुखी रोजगारीका लागि सीप अभिवृद्धि परियोजना तथा नेपाल कृषि बजार विकास कार्यक्रम कार्यान्वयन गर्न अन्तर्राष्ट्रिय सहायताका लागि स्विस नियोग (एसडिसी)मार्फत स्विस सरकारले अनुदान सहायता उपलब्ध गराएको हो ।

अनुदान सहायतासम्बन्धी सम्झौतापत्रमा अर्थ मन्त्रालयमा आज आयोजित एक कार्यक्रममा नेपालका लागि स्विटजरल्यान्डका राजदूत अर्स हेरेन र अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका प्रमुख, अर्थ मन्त्रालयका सचिव लोकदर्शन रेग्मीले हस्ताक्षर गर्नुभयो । सीप विकास तालिम, व्यावसायिक स्वास्थ्य तथा सुरक्षा, औद्योगिक प्रतिष्ठानहरुको सम्बन्ध, व्यावसायिक शिक्षालगायत सीप विकासका कार्यक्रममा अनुदान रकम खर्च गरिनेछ ।

खाद्य सुरक्षा, सामाजिक समावेशीता, महिला नेतृत्वमा सञ्चालित कृषि फार्म, पिछडिएका वर्गलाई उच्च प्राथमिकता दिँदै रामेछाप, ओखलढुङ्गा, खोटाङ, अछाम, कालीकोट, जाजरकोट, दैलेख, सिन्धुली र उदयपुरमा ती परियोजना सञ्चालन हुनेछन् । त्यस अवसरमा नेपालको सामाजिक–आर्थिक विकासमा लामो समयदेखि स्विस सरकारबाट निरन्तर प्राप्त सहयोगप्रति सचिव रेग्मीले आभार प्रकट गर्नुभयो ।

राजदूत हेरेनले पिछडिएका वर्गको जीवनस्तर उकास्ने तथा गरिबी घटाउने आयआर्जनका कार्यक्रमलाई आफ्नो सरकारले उच्च प्राथमिकता दिएको र नेपाललाई सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । रासस