३१ आश्विन २०८३, शनिबार

नारायणगढ-मुग्लिन सडकलाई विश्व बैंकले वातावरणमैत्री बनाउने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sadak

चितवन, ६ माघ । वरण्डाभार वन क्षेत्र भएर जाने नारायणगढ–मुग्लिन सडकखण्डलाई वन्यजन्तुमैत्री बनाउन अभियान सुरु गरिएको छ ।

सो सडकको आँपटारी, रामनगर–जुगेडीबीच भागमा वरण्डाभार वन क्षेत्र पर्दछ । सो सडक हुँदै वन्यजन्तु ठूलो सङ्ख्यामा आवतजावत गर्दछन् । सडक फराकिलो बनाउने क्रममा विश्व बैंकले वातावरणमैत्री सडक बनाउनुपर्ने जनाएपछि सो सडकलाई वन्यजन्तुमैत्री बनाउन लागिएको हो ।

नारायणगढ–मुग्लिन सडक योजनाका इञ्जिनियर शिव खनालका अनुसार नारायणगढबाट दुई दशमलब आठ किलोमिटर मुग्निनतर्फको आँपटारी चेकपोस्ट अगाडि र सात दशमलब छ किलोमिटरको दुरीमा रहेको जुगेडी र रामनगरबीच भागमा वन्यजन्तु आवतजावतका लागि बाटो छोडिएको छ ।

पाँच मिटर चौडाइ र पाँच दशमलब पाँच मिटर उचाइको उक्त बाटो हुँदै ठूलोमा हात्तीसम्म आवतजावत गर्नसक्ने उहाँले बताउनुभयो ।

वातावरणीय प्रभाव मूल्याङ्कनका क्रममा सोही बाटो हुँदै वन्यजन्तु नारायणी नदीसम्म पानी खान जाने र आवातजावत गर्ने हुँदा बाटो छोडिएको आयोजनाका प्रमुख चन्द्रनारायण यादवले बताउनुभयो ।

उहाँका अनुसार वातावरणमैत्री बनाएर सडक निर्माण गरिएको नेपालमा यो पहिलो हो । सडक साँघुरो हुँदा जनावरलाई अप्ठ्यारो परेकाले विश्व बैंकको रु दुई अर्ब ९० करोडको सहयोगमा सो सडकलाई फराकिलो पार्ने काम भइरहेको छ । सन् २०१७ को अप्रिलसम्ममा सम्पन्न गर्न तीव्रगतिमा काम भइरहेको उहाँले बताउनुभयो ।

जिल्ला वन कार्यालय चितवनका प्रमुख गणेश रायले सो क्षेत्रमा विगत तीन महिनामा गाडीले ठक्कर दिएर चारवटा हरिण मरेको बताउनुभयो ।

साँघुरो सडक हुँदा सवारीका साधन विस्तारै गुड्ने भए पनि सडक चौडा भएसँगै सवारीसाधनको गति बढ्ने हुँदा जनावर आवातजावतका लागि कठिन हुने उहाँले बताउनुभयो । दुर्लभ वन्यजन्तु गैंडा ढिलो हिँड्ने गर्दछ । सो क्षेत्र गैँंडाको राम्रो बासस्थान मानिन्छ ।

चितवनकै टिकौली क्षेत्रमा पनि कोरिडोरमा धेरै सवारी साधन गुड्ने हुँदा जनावरलाई अप्ठ्यारो परेको बताउँदै रायले त्यहाँ पनि विकल्पको खोजी गर्नुपर्ने बताउनुभयो ।

नारायणगढ–मुग्लिन सडकखण्डको सो सडक ३६ किलोमिटरको रहेको छ । सडकलाई तीन भागमा विभाजन गरेर निर्माण कार्य अगाडि बढाइएको छ । सो क्षेत्रको सडक ११ मिटर फराकिलो बनाइँदै छ । रासस