१ कार्तिक २०८३, शनिबार

मधेस र पहाड जोड्न जुटे धुर्मुस सुन्तली (फोटो फिचरसहित)

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Dharmus-Suntali

काठमाडौं, ५ माघ । कला थियो । सम्मान थियो । लोकप्रियताको शिखरमै थियो धुर्मुस सुन्तलीको परिचय । दर्शक हँसाएर वर्षौ बिताए । सोलुखुम्बुमा जन्मी, झापामा हुर्केर ललितपुरमा घर बनाउन सफल भए । मान्छे हँसाएर बल्तल्ल जोडेको घरपनि सामाजिक कामका लागि खर्च गर्न तयार रहे ।

तर, वैशाख १२ को भूकम्पपछि यो हाँस्यजोडी दर्शक हँसाउन भन्दा बढी गरिब र पिछडीएका समुदायको मुहारमा मुस्कान ल्याउन तल्लीन छ । आफ्नो काममा भन्दा बढी सामाजिक काममा सक्रिय छ । काभ्रे डाँडा गाउँमा देशकै पहिलो एकीकृत नमुना बस्ती बसाल्यो । जाँडोले कठ्याङ्ग्रीएका दोलखा भिरकोटका ७५ माझी परिवारलाई न्यानोका लागि सिरक वितरण गर्यो । सिन्धुपाल्चोकको सिंगो बराम्ची गाविसका ८ सय १६ भूकम्प पीडितलाई ब्ल्याङकेट बाँड्यो ।

सरसफाईका लागि तमाम काम बिर्सीएर धुर्मुस सुन्तलीले रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काभ्रेलगायतका जिल्लामा कुचो लगाए । सरोकारवाला निकायलाई सक्रिय हुन बाध्य गराए । यतिमात्र होइन पूर्व पश्चिम राजमार्ग बढार्ने अभियानमा सरिक भए । यहि क्रममा महोत्तरीको बर्दिबास पुग्दा मुसहर बस्तीको बिकराल अवस्था देखे । स्थानीय पत्रकार राजकरण महतोले धुर्मुस सुन्तलीलाई बर्दिबास नगरपालिका वडा नम्बर २ मा पर्ने मुसहर बस्तीमा पुर््याए । तीन घण्टा मुसहर बस्तीमा बिताउँदा उनीहरुको मन थामिएन । त्यसैले मुसहर बस्तीको मुहार फेर्ने दिर्घकालीन योजना बुने । तत्कालकालागि शितलहरबाट बचाउन मुसहर बस्तीमा न्यानो ओढ्ने र ओछ्याउने आवश्यक थियो । गरिबीका कारण बिहान खाए बेलुका के खाने ? भन्ने चिन्ता हटाउने उपाय खोजे । यो सँगै उनीहरुले त्यो बस्तीको वास्तविकता बाहिर ल्याए । यो जानकारीपछि अमेरिकामा बस्दै आएका नगेन्द्र ढकालले धुर्मुस सुन्तलीलाई सम्र्पक गरे । फलस्वरुप नेपाली कम्युनिटी सेन्टर ओल्र्याण्डो र युनाइटेड फ्लोरिडाको सहयोगमा धुर्मुस सुन्तली फाउण्डेशनले साढे ५ लाख बराबरको तत्कालीन राहत प्याकेज वितरण गरेको हो । सञ्चारमाध्यमले सरकार र सरोकारवाला निकायको आँखा खोल्यो । फलस्वरुप मुसहर बस्तीमा अहिले सरकार र अन्य विभिन्न संघ संस्थाको पनि आँखा पुगेको छ ।

धुर्मुस सुन्तलीले तत्कालकालागि मुसहर बस्तीमा रहेका ५५ परिवारलाई प्रति परिवार दुई दुई वटा न्यानो सिरक र डसना वितरण गरेका छन् । त्यस्तै सबै परिवारलाई एक एकबोरा चामल, दाल लगायतका उपभोग्य सामग्री पनि उपलब्ध गराएका छन् । यस्तै, मुसहर बस्तीकै सबैभन्दा बढी अध्ययन गरीरहेका मन्जे सदालाई धुर्मुस सुन्तली फाउण्डेशनले प्रोत्साहन स्वरुप ५ हजार रुपैँया नगद पनि प्रदान गरेको छ । विद्यालय नजिकै रहेपनि पढ्न नजाने समस्या रहेकाले अरुलाई पनि हौसला दिनकालागि उक्त नगद रकम दिइएको फाउण्डेशनले जनाएको छ । अहिले कक्षा ११ मा अध्ययनरत मन्जे सदाले धुर्मुस सुन्तलीले गरेको सम्मानले आफूलाई थप प्रोत्साहन मिलेको भन्दै मुसहर समुदायमा शिक्षाको महत्व बुझाउने संकल्प गरेका छन् । विभिन्न सरकारी निकायका प्रतिनिधिहरुले पनि मुसहर बस्ती विकासकालागि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

राहत वितरण गर्दै धुर्मुस सुन्तलीले सबैको साथ र सहयोग पाएमा मुसहर बस्तीको मुहार फेर्ने अभियानको नेतृत्व लिन आफूहरु तयार रहेको बताएका छन् । भूकम्प पछि ७७ दिनमा प्रशंसा योग्य एकीकृत नमुना बस्ती बसालेको अनुभवपनि रहेको भन्दै उनीहरुले मुसहर बस्तीको मुहार फेर्न सकिने बताएका हुन् । मुसहर समुदायको जीवनस्तर उकास्नका लागि औपचारिक शिक्षासँगै व्यापक जनचेतनाको खाँचो रहेको हाँस्यकलाकार सिताराम कट्टेलको भनाई छ । गरीब र पिछडीएका समुदायको उत्थान गर्न सके देश आफैँ विकसित बन्दै जानेमा उनको विश्वास छ । यसको साथै तराईका मुसहर बस्ती पीडित समुदायको पीडामा मल्हम लगाउन सके मधेश र पहाडबीचको तिक्तता कम हुनेमा पनि धुर्मुस विश्वस्त छन् । आफूहरु मधेस र पहाडबीचको पुल बन्न चाहेको पनि उनले स्पष्ट गरेका छन् ।

मुसहर बस्तीमा उक्त सहयोग सामग्री वितरण गर्दै कुञ्जना घिमिरेले आधारभुत आवश्यकताको नै अभाव रहेको प्रति दुःख व्यक्त गरेकी छिन् । सरसफाई, बालविवाह, अशिक्षालगायत विविध समस्याले व्याप्त मुसहर बस्तीको मुहार फेर्न सकेमा आफ्नो मनले पनि शान्ति पाउने उनको भनाई छ । बस्तीको मुहार फेर्ने काम एक व्यक्तिको मात्र आँटले सम्भव नरहेको भन्दै उनले सबैको साथ, सहयोग र समर्थनकालागि अपील गरेकी छिन् । सहयोगी हातहरुको साथ पाएमा मुसहर बस्तीलाई नमुना बस्ती बनाउने आफूहरुको योजना रहेको उनले सुनाइन् ।

मुसहर बस्तीलाई नमुना बनाउने धुर्मुस सुन्तलीको सुरु भयो अभियान
धुर्मुसु सुन्तलीले महोत्तरी बर्दिबासका ५५ परिवारलाई सिरक, डस्ना बितरण गरेका छन् । मुसहर बस्तीको विकराल अवस्था देखेपछि उनीहरुले तत्कालकालागि प्रति परिवार दुईदुई वटा सिरक र डस्ना वितरण गरेका हुन् । जाडोयाम शितलहरले मुसहरहरुलाई सताउने भएकाले न्यानोका लागि सिरक डस्ना वितरण गरिएको धुर्मुस सुन्तली फाउण्डेशनले जनाएको छ । यस्तै, प्रत्येक परिवारलाई एक बोरा चामल र दाल पनि उपलब्ध गराइएको छ ।

Dharmus-Suntali (1) Dharmus-Suntali (2) Dharmus-Suntali (3) Dharmus-Suntali (4) Dharmus-Suntali (5) Dharmus-Suntali (6) Dharmus-Suntali (7) Dharmus-Suntali (8) Dharmus-Suntali (9) Dharmus-Suntali (10) Dharmus-Suntali (11)