३१ आश्विन २०८३, शनिबार

हरियालीसहितको नमुना सडक निर्माण सुरु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sadak

रत्ननगर (चितवन), ५ माघ । पूर्वपश्चिम राजमार्गमा पर्ने रत्ननगर बजार क्षेत्रमा हरियाली सहितको नमुना सडक निर्माण सुरु भएको छ ।

रत्ननगर बजार क्षेत्रको निपनीदेखि लौरीघोलसम्म झन्डै साढे दुई किमी क्षेत्रको सडक स्तरोन्नति गरी चार लेनको बनाउन थालिएको हो । चार लेनसहित यहाँ छुट्टै सर्भिस लेन पनि बनाइने छ । यस्तै ग्रिनरी, रोड डिभाइडर तथा फुटपाथ र ढल निकासका पूर्वाधार समेत निर्माण गरिने सोही क्षेत्रका सांसद शेषनाथ अधिकारीले जानकारी दिनुभयो । उहाँ सो सडक निर्माण समितिका संयोजक समेत हुनुहुन्छ ।

करिब रु ४० करोडको आयोजना भए पनि हाल पहिलो चरणमा चार लेन तथा डिभाइडरसहित ढल निर्माण गर्ने गरी रु १९ करोड बढीको ठेक्का स्वीकृत भएको छ । श्रेष्ठ कन्स्ट्रक्सनले सडकको स्तरोन्नतिका लागि निर्माणको काम सुरु गरिसकेको छ । पहिलो चरणमा ढल निकासको काम भइरहेको जनाइएको छ ।

नगरपालिकाका निमित्त कार्यकारी प्रमुख सीताराम पोखरेलले अहिले ढलसहितको चार लेन सडक निर्माण सुरु भएको जानकारी दिनुभयो । फुटपाथ लगायत ग्रिनरी र सर्भिस लेनको निर्माणको काम भने दोस्रो चरणमा गरिने छ ।

स्थानीय निकाय र उपभोक्ताको साझेदारीमा नेपाल सरकारको बजेटमा उक्त सडकको स्तरोन्नति गरी नमुना सडक निर्माण थालिएको पोखरेलले बताउनुभयो । सडक निर्माणमा उपभोक्ता र स्थानीय निकायले करिब रु आठ करोड लगानी गर्नुपर्ने छ ।

सोही क्षेत्रका सांसद अधिकारीका अनुसार करिब १५ महिनामा सक्ने सम्झौता गरी सडक निर्माण सुरु भएको हो तर विभिन्न कारणले निर्धारित समयमा सक्न मुस्किल भए पनि कामलाई तीव्रता दिने उहाँले बताउनुभयो । तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्री विमलेन्द्र निधिको पालामा उक्त सडकका लागि बजेट छुट्याइएको थियो । पुलको शिलान्यास भने यही माघ ९ गते गरिने बताइएको छ । रासस