३१ आश्विन २०८३, शनिबार

तिब्बतसँग जोडिएको प्रोक र बिही गाउँमा मोबाइल सेवा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepal Telecomगोरखा, ५ माघ । तिब्बतसँग सिमाना जोडिएको उत्तरी गोरखाको प्रोक र बिही गाउँमा नेपाल टेलिकमको (नमस्ते) मोबाइल सेवा सञ्चालनमा आएको छ ।

सौर्य ऊर्जाबाट चल्ने गरी प्रोक गाउँमा स्तम्भ स्थापना गरेर आजदेखि मोबाइल सेवा सुरु गरिएको हो । प्रोक युवा क्लब र बिही युवामैत्री क्लबको संयुक्त लगानीमा टावर स्थापना गरी सञ्चालनमा ल्याइएको हो ।

दुर्गममा पनि नमस्ते फोन सञ्चालनमा आएपछि स्थानीयवासीमा खुसियाली छाएको बिहीका नवीन गुरुङले बताउनुभयो । टेलिफोन सञ्चालनमा आएपछि ४६३ घरधुरीका स्थानीयवासी प्रत्यक्ष रुपमा लाभान्वित भएका छन् ।

यसअघि घन्टौँ हिँडेर टेलिफोन गर्न जाने गाउँले घरमै बसेर फोन गर्न पाउँदा खुसी भएको प्रोकका पेमा डुण्डुप लामाले बताउनुभयो । “आफन्तलाई गाउँमा फोन टिप्यो भन्ने खबर सुनाउँदा सुनाउँदै रिचार्ज नै सिद्धियो”¬–उहाँले भन्नुभयो, “गाउँमा सुविधा थपियो ।”

यसअघि बिही गाविसबाट फोन गर्न प्रोकको गप जानुपर्ने बाध्यता थियो । त्यहाँ एनटी स्याटको टेलिफोन सेवा उपलब्ध छ । “एनटीस्याटबाट बोल्दा एक मिनेटकै १० रुपैयाँ तिर्नुपथ्र्यो”¬–उहाँले भन्नुभयो, “अब सस्तोमा फोन गर्न पाइने भयो ।”

बिही र प्रोकमा टावर सञ्चालनमा आएपछि मनास्लु पदमार्ग भई लार्के भन्ज्याङका लागि आवतजावत गर्ने स्वदेशी, विदेशी पर्यटकलाई पनि फाइदा पुगेको स्थानीयवासी बताउँछन् । उत्तरी भेगका अधिकांश गाउँ अझै टेलिफोन सेवाबाट वञ्चित छन् । मनास्लु पदमार्ग हुँदै बिही पुग्न पाँच दिन र प्रोक पुग्न छ दिन पैदल हिँड्नुपर्छ । ती गाविसमा अझै सडक पुगेको छैन । रासस