
– गणेश आचार्य
तुलसीपुर, ५ माघ । दाङको दुधरासस्थित सोनापुर सिमेन्ट उद्योगद्धारा उत्पादित ओपिसी सोना सिमेन्ट गुण्स्तरहिन भएको पाइएको छ ।
सोना सिमेन्ट प्रयोग गरी निर्माण गरेका घरका ढलान सेट नभएपछी दाङको तुलसीपुर र घोराहीमा उक्त सिमेन्ट प्रयोग गरेका घर धमाधम भत्काइएका छन् । तुलसीपुरको नयाँ बसपार्कमा घर बनाइरहेका भागिराम डाँगीले सोना सिमेन्ट प्रयोग गरी गरिएको घरको ढलान दुई दिनसम्म सेट नभएपछी ढलान भत्काएर पुनर्निर्माण गरेका छन् । पुस १५ गते गरिएको डाँगीको घरको ढलान १७ गते खोल्दा भत्कीएको थियो । धेरै ठाउँमा ढलान भत्कीएपछी पुरै ढलान घन प्रयोग गरी भत्काइएको होे ।
डांगीको घर बनाइरहेका मिस्त्री रामशरण चौधरीले सोना सिमेन्टले गरिएको ढलान सफल नभएकाले भत्काउनु परेको बताए । उनले भने- ‘सोना सिमेन्ट हालेर ढलान गरेका थियौं । तर, सेट भएन । फर्मा खोल्दा पानीसहित गिट्टी बालुवा र सिमेन्ट भ्वाक्क ! भ्वाक्क खस्यो । ढलानले पानी नै सोसेन । अनि पुरै ढलान फोड्नु प¥यो ।’ डांगीले सोना सिमेन्ट प्रयोग गरी बनाएको आफ्नो घर गुणस्तरहिन सिमेन्ट परेका कारण भत्काएर फेरी बनाउनु परेको बताए ।
तुलसीपुर उद्योग बाणिज्य संघ नजिकै बसन्त खड्काको सोना सिमेन्ट प्रयोग गरी निर्माणाधिन घरको पनि ढलान पनि भागिराम डांगीको जस्तै गरी भत्कीएको छ । खड्काले सोना सिमेन्टले काम नगरेपछी ढलान भत्काएर सगरमाथा सिमेन्ट प्रयोग गरेको बताए । उनले सोनापुर सिमेन्ट उद्योगले आफूलाई क्षतीपूर्ती दिएको जानकारी दिए । खड्काले क्षतिपूर्ती बापत पाएको रकम भने खुलाएनन । सोना सिमेन्ट पीडित सबै घर धनिले सिमेन्ट गुणस्तरहिन भएको कुरा सोनाको तुलसीपुरस्थित डिलरमा जानकारी गराएका थिए । सिमेन्ट गुणस्तरहिन भएको कुरा सार्वजनिक भएपछी उद्योगमा हल्लीखल्ली मच्चिएको थियो ।
सिमेन्ट गुणस्तरहिन भएको कुरा सार्वजनिक हुन नदिन उद्योगले सोना सिमेन्ट पीडितहरुलाई मोटो रकम दिएको छ । सिमेन्ट उद्योगका नायब महाप्रबन्धक रेवन्त ढकालले सोना सिमेन्टले ढलान सेट नभएपछी पीडितलाई लागत मूल्यभन्दा ५ गुणा भन्दा बढी रकम उद्योगले क्षतिपूर्ती दिएको स्वीकार गरे । उनले तुलसीपुर र घोराहीमा सोना सिमेन्ट प्रयोग गरेका घरमा समस्या आएकाले धेरै रकम तिर्नुपरेको बताए । ढकालले सिमेन्ट गुणस्तरहिन भएको स्वीकार्दै सकेसम्म यस्तो कुरा सार्वजनिक नगरिदिन आग्रह गरे । उनले भने– ‘हाम्रो सिमेन्टमा समस्या देखिएको छ । सिमेन्टकै समस्याका कारण घरका ढलान भत्कीए । हामीले पैसा पनि तिरेका छौं । सकेसम्म यस्तो कुरा बाहिर नआएको राम्रो ।’
ठूलो मात्रामा सिमेन्ट किनेकालाई उद्योगले क्षतिपूर्ती दिएपनि थोरै खरिद गरेकालाई भने बेवास्ता गरेको पाइएको छ । तुलसीपुर ८ दुधेनाका पदम खड्काले पुस १६ गते ट्वाइलेट बनाउन लगेको सोना सिमेन्टले काम नगरेको र किनेको ठाउँमा गुनासो गर्दा कुनै सुनुवाई नगरेको गुनोसो गरे । उनले अहिले आफूले सोना सिमेन्ट फालेर अरु कम्पनीको सिमेन्ट प्रयोग गरेको बताए ।
समाचार रोक्न रात्री भोज !
आफूले उत्पादन गरेको ओपिसी सोना सिमेन्टमा खराबी देखिएपछी समाचार बाहिर आउन नदिन सोनापुर सिमेन्ट उद्योगले पुस २३ गते तुलसीपुरको होटेल एकान्तमा जिल्लामा कार्यरत ठूला संचार माध्यमका प्रतिनिधीलाई रात्री भोज दिएको थियो । भोजमा पत्रकार महासंघका केही पदाधिकारी/सदस्य तथा अन्य केही पत्रकार गरी ९ जना पत्रकार सहभागी थिए । भोजमा सिमेन्ट उद्योगका हरि पाठक, रेवन्त ढकाल र लक्ष्मण गिरी सहभागी थिए । ढकालले एकान्त होटेलमा पत्रकारलाई रात्री भोज दिएको स्वीकार गरेका छन् । उनले पत्रकारसंग सम्बन्ध सुर्धान भोज दिएको दाबी गरे ।















प्रतिक्रिया