
पर्वत, ५ माघ । यहाँका एक अपाङ्ग भूकम्पपीडित किशोरलाई स्थानीय संस्थाले दुईतले भूकम्प प्रतिरोधी पक्की घर बनाइदिएको छ ।
वैशाख १२ पछि त्रिपालमुनि बस्दै आएका जिल्लाको कुश्मा नगरपालिका वडा नं १७ सिल्मीका १६ वर्षीय निशान नेपालीलाई अपाङ्ग उत्थान समाज पर्वतको पहल र आइएनएफ पोखराले अपाङ्गमैत्री र भूकम्प प्रतिरोधी पक्की घर निर्माण गरिदिएको हो । वैशाख १२ गतेको भूकम्पले पूर्ण क्षति भएको नेपालीको घरलाई पुनःनिर्माण गरिएको हो ।
स्थानीय युवाको रु एक लाख ५० हजार बराबरको जनश्रमदान र आइएनएफको रु एक लाख ८२ हजार नगद गरी कुल तीन लाख ३२ हजारमा घर निर्माण गरी पीडित परिवारलाई हस्तान्तरण गरिएको छ ।
पर्वतका प्रमुख जिल्ला अधिकारी झम्कनाथ ढकाल र आइएनएफ पोखराका सामाजिक निर्देशक बुद्धिबहादुर थापाले संयुक्त रुपमा सोमबार घरको सा“चो र न्यानो कपडाका लागि रु १० हजार नगद हस्तान्तरण गर्नुभएको थियो ।
सो अवसरमा प्रमुख जिल्ला अधिकारी ढकालले अपाङ्गता भएकालाई घरमात्रै नभई सीपमूलक व्यवसायमा सहयोग पुग्ने कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनुभयो । चार वर्षको उमेरदेखि मस्तिष्कको पक्षघात भएका निसानका बाबु ज्याला मजदुरी गर्दै आउनुभएको छ ।
सम्पत्तिको नाममा भएको सानो दुईकोठे घर गएको वैशाख १२ को भूकम्पले भत्काइदिएपछि नेपालीको परिवार त्रिपालमुनि बस्दै आइरहेको थियो । आइएनएफका सामाजिक निर्देशक थापाले अपाङ्गता भएकालाई पहिलो प्राथमिकतामा राखेर सहयोग गरेको बताउनुभयो । रासस












प्रतिक्रिया