३१ आश्विन २०८३, शनिबार

सुदूरपश्चिममा भारुको अवैध कारोबार बढ्दो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

paisaधनगढी, ५ माघ । स्थानीय बजारमा भारतीय रुपैयाँ सटहीको अवैध कारोबार बढ्न थालेको छ ।

अवैधरुपमा भारुको कारोबार गर्नेले लुकीछिपी रुपमा १७० देखि १७५ नेपाली रुपैयाँ लिई भारु १०० सटही गर्ने गरेको नाम भन्न नचाहने एक व्यापारीले बताउनुभयो ।

अवैध कारोबार बढ्दै गएको भए पनि यस्तो कारोबार रोक्न कसैले पनि चासो नदिएको स्थानीयवासीको गुनासो छ । अवैध कारोबार बढ्दै गइरहेका अवस्थामा नेपाल राष्ट्र बैंक धनगढीमा बिरामीको उपचारका लागि भारत जाने भन्दै भारु सटही गर्नेको पनि दिनहुँ ठूलो भीड लाग्ने गरेको छ ।

बैंकबाट भारु सटही गरी उक्त भारुको अवैध कारोबार गर्ने गरेको देखिन थालेपछि राष्ट्र बैंक धनगढीले निश्चित मापदण्ड तोकेर भारु सटही गरिदिने गरेको छ । यद्यपि बिरामीको उपचारको प्रयोजनका लागि भारु लिन आउनेको हकमा कडाइ नगरिएको बैंकका कर्मचारीले बताएका छन् ।

सम्बन्धित व्यक्तिको नागरिकताको फोटोकपी र भारुको प्रयोजनसहितको निवेदनका आधारमा एक व्यक्तिलाई अधिकतम रु दुई हजार ५०० सम्म भारु साटही गरिदिने गरेको राष्ट्र बैंक धनगढीले सोमबारबाट प्रतिव्यक्तिलाई रु पाँच हजार भारुसम्म सटही गर्न थालेको छ ।

सर्वसाधारणलाई केही पैसा कमिसन दिएर राष्ट्र बैंकबाट भारु साट्न लगाउने र उक्त भारु १५ प्रतिशतसम्म कमिसनमा बेच्ने गिरोह सक्रिय रहेको बताइन्छ ।

भारुको कारोबारमा संलग्न रहेको जानकारी आएको भए पनि अधिकार नहुँदा अनुगमन गरी यस्तो कारोबारमा संलग्नलाई कारबाही गर्न नसकिएको राष्ट्र बैंकका कर्मचारीको भनाइ छ ।भारुको अभाव रहेको जनगुनासो रहेका अवस्थामा राष्ट्र बैंक धनगढीका प्रमुख बिश्रुत थापाले भारुको अभाव नरहेको राससलाई बताउनुभयो । रासस