
अनुज थापा/ दैनिक नेपाल
न्युयोर्क : जब विष्णुमान प्रधान करिब चार महिनाको नेपाल बसाईपश्चात न्युयोर्क शहरको ज्याक्सन हाइटमा अवस्थित आफ्नो वासस्थानमा पुगे, तब उनको ३ बर्षीय छोराले उनलाई च्याप्प समातेर अंगालो मार्दै भने –“ड्याडी, आई आइ मिस्ड यु ।”
“मैले आफूले आफैंलाई सहाल्नै सकिन र मेरा आँखा पनि रसाए,” भन्छन् विष्णुमान प्रधान । छोरा विस्लेक्ससँग उनको भेट नभएको २ महिनाभन्दा बढी भइसकेको थियो ।
“मैले सधैं के सोच्थें भने मेरो छोरा म भन्दा आमातिर बढी नजिक छ तर त्यो पल मैले अनुभव गरे किँ उसले मलाई कति मिस गर्दाे रहेछ । म शब्दमा बयान गर्न सक्दिन त्यो अनुभव जब उसले मलाई अंगालो मार्यो ।” विष्णुमानले थपे ।
अमेरिकाका स्थायी वासिन्दा ३७ बर्षीय विष्णुमान वैशाख ११ को महाभूकम्प लगतै नेपाल गएका थिए । यस भूकम्पमा उनले आफ्नो परिवारका १७ सदस्यलाई एकैदिन गुमाएका थिए । श्रीमती श्रुति र छोरा विस्लेक्सलाई लिएर उनी नेपाल गए । श्रुति र विस्लेक्स १ महिना पछि फर्किए पनि प्रधान फर्किएनन् किनभने उनले धेरै कुरा मिलाउन त्यहाँ बाँकी थियो ।
११. ५७ को साइत
वैशाख ११ को विहान विष्णुमानका ६२ वर्षिया आमा सप्ताह पुजाको तयारी गर्दै थिइन् । काठमाडौं चमतीमा रहेको साँढे ३ तले घरमा उक्त सप्ताह लगाइएको थियो ।

सबै चिनेजानेका पारिवारिक सदस्य र नातागोतालँई उक्त दिन बोलाइएको थियो र सबैजना आउने क्रम शुरु भइसकेको थियो ।
सप्ताहको लागि पण्डितले ११.५७ बजेको शुभसाइत निकालेका थिए, त्यहि भएर धेरै आफन्तजनहरु त्यहाँ पुगिसकेका थिए । अचानक ११.५६ बजे, ७.८ रेक्टर स्केलको महाप्रलय आयो जसले विष्णुमानका १७ पारिवारिक सदस्यलाई सदाका लागि यस धर्तीबाट चुंडेर लग्यो ।

१२ वर्ष अगाडि बनेको उक्त घर तासको पत्ताजस्तै गम्ल्याङगुम्लुङ्ग ढल्यो जसबाट २१ जनाको मात्रै जीवितै उद्धार गर्न सकियो ।
विष्णुमानले आफ्नी आमा, दाई, दिदी, आमाकी माता–पिता, आमाकी तीन बहिनी, बाबुकी बहिनी, आफ्नी बहिनीकी ४ वर्षिया छोरी लगायत १७ जनालाई एकै दिन त्यही घरमा गुमाउन पुगेका थिए ।

सात वर्षदेखि न्युयोर्कमै बसिरहेका विष्णुमानले पनि त्यस दिन भुकम्पको खबर सामाजिक सञ्जाल फेसबुकबाटै थाहा पाएका थिए । उनले तुरुन्त आफ्नो आफन्तको फोन लगाए । तर कसैको पनि फोन लागेन । केहि घण्टाको प्रयासपश्चात बल्लबल्ल आफ्नो ससुराको फोन लाग्यो ।
उनले जुन अनिष्टको आशंका गरेका थिए त्यही कुरा फोनमा सुने “तिम्रो घर ढल्यो, आमाको पनि मृत्यु भयो ।”
“आमाले हामीलाई पनि पुजामा बोलाउनुभएको थियो तर मैले दशैंमा आउँछु भन्दै टारेको थिएँ । त्यस्तै, श्रुति (श्रीमती) को पनि भखैरै नयाँ काम मिलेको थियो त्यसैले हामी घर गएका थिएनौं,” विष्णुमान सन्झन्छन् ।
नेपालका दिनहरु
विष्णुमान आमाको मृत्युको खबर पाउने बित्तिकै वैशाख १६ गते नेपाल पुगे । जब म आफनो घर पुगें तब यसले गरेका क्षति देखेर म विक्षिप्त भएँ,” विष्णुमान आंखाभरि आँशु पारेर त्यो क्षण सम्झिरहेका थिए ।
विष्णुमानका बुवा, भाउजु र बहिनी उनलाई कुरिरहेका थिए । आफ्नी आमालाई दागबत्ति दिँदै गर्दा उनले उक्त पलको कल्पना पनि गरेका थिएनन् । उनले भने – “नाति विस्लेक्सलाई भेट्न आमा निकै नै आतुर हुनुहुन्थ्यो तर उनको यो इच्छा अधुरै रह्यो । ”
विस्लेक्स सन् २०१२ मा अमेरिकामै जन्मिएका थिए । यसअघि कहिले पनि अमेरिका नगएका विस्लेक्ससंग विष्णुमानकी आमाको कुरा भनेको फोन र स्काइपमा मात्रै हुन्थ्यो ।

यता विस्लेक्सलाई नेपालमा बस्न निकै नै गाहे भइरहेका थियो । मामाघरमा बसिरहेका विस्लेक्सका लागि सबै चिज नयाँ थियो । त्यसमाथि १३ दिने कामको दौरान उनी बाबुआमाको छेउमा पर्ने कुरै भएन ।
धेरै समयपछि नेपाल फर्किएको, त्यसमाथि पनि यस्तो बेलामा । विस्लेक्सलाई निकै नै सकस भएको थियो त्यतिखेर र उनी झाडापखालाबाट ग्रसित भएका थिए उता श्रुति पनि फुड पोइजनिङ भएर अस्पताल भर्ना भएकी थिइन्।
बारम्बार धक्का आइरहेको र पालको बसाईको कारण अन्यलाई जस्तै विष्णुमान प्रधानको परिवारलाई पनि गाह्रो भइरहेको थियो । यस्तो अवस्थामा छोरा र श्रीमतीको स्वास्थ्य अझ बिग्रन सक्ने देखेर उनीहरुलाई विष्णुमानले न्युयोर्क पठाए । श्रुति र विस्लेक्स जेठ १९ गते न्युयोर्क पुग्छन् ।
नेपालमा विष्णुमान प्रधानको धेरै कामहरु बांकी थियो । घरको भग्नावशेष हटाउन साँढे २ महिना लागेको थियो । त्यस्तै, १ महिना पालको बसाइँपछि उनीहरु आफनो काकाको घर सरेका थिए ।

यस बीचमा उनले मृत्यु दर्ता, सम्पत्ति नामसारी जस्ता सरकारी कामहरु गरेका थिए । त्यस्तै, आफ्नो बुवा, भाउजु र दुई भतिजीका लागि बस्ने घर पनि खोज्न शुरु गरिसकेका थिए ।
उता न्युयोर्कमा विस्लेक्स आफ्ना बुवालाई धेरै नै मिस गरिरहेका थिए ।
श्रुतिलाई आफ्नो काममा फर्कन हतारो थियो । त्यसैले, उनले विस्लेक्सलाई नजिकैको क्राइस्ट चर्च र चाइल्ड केयर सेन्टरमा भर्ना गरिदिइन् र आफू भने न्यू रोचेलेमा रहेको मुन्रो कलेजमा काम गर्न थालिन् ।

“विस्लेक्सको मनमा नेपालको याद ताजै थियो होला, शायद । उनी आफ्ना शिक्षकहरुलाई भूकम्पको बारे र आफ्नी हजुरआमाको बारे बताइरहन्थें,” श्रुतिले भनिन् । त्यस्तै, उनले फादर्स डे (अमेरिकीहरुले जुन महिनाको तेस्रो आइतबार बुवाको मुख हेर्न दिन मनाउँछन्) को घटना कहिले पनि बिर्सिनन् ।
श्रुतिले भावुक हुँदै उक्त दिनको बारे बयान गरिन्, “आफ्नो प्रस्तुति सकिएपछि बाबु स्टेजबाट आफै तल ओर्लन पर्दथ्यो तर बिस्लेक्स ओर्लिएनन् । उनका आँखाले आफ्नो बुबा खोजिरहेको थियो । त्यस दिन उनलाई स्टेजबाट तल ओलार्न निकै नै गाह्रो भएको थियो ।”
त्यस दिनदेखि विस्लेक्सले हरेक दिन आफुले स्कुलमा बनाएको चित्रहरु घर ल्याउन थाले । कोठाको भित्तामा टांसिएका ती चित्रहरु उनलाई आफ्नो बुवा न्युयोर्क फर्किएपछि देखाउनु थियो ।
सहयोग खाता (GoFundMe) खोलियो
वैशाख १६ गते विष्णुमानका पुराना साथीले उनको परिवारमा आएको विपत्तिमा केहि भएपनि सहयोग गर्न खाता खोलिन् जहाँ मानिसहरुले सहयोग गर्न सक्थे । न्युयोर्क निवासी एमी वांगर्ड हउसम्यानले भनिन् “हामी साथीहरु सबै मिलेर विष्णुमानको परिवारको लागि केहि गर्न चाहन्थ्यौं त्यसैले यो सहयोग खाता खोलेका थियौं ।”
उक्त खातामा १० लाख रुपैंया उठाउने लक्ष्य राखिएको थियो तर अहिलेसम्म त्यहाँ १५ लाखभन्दा बढी रकम उठिसकेको छ । विष्णुमानलाई आफ्नो परिवारको सदस्य जस्तै ठान्ने एमिले भनिन्, “हामी केहि समय अझै यो खाता संचालन गरिरहन्छौं । हामी चाहन्छौं उनको परिवारलाई अझ मद्दत गर्न सकियोस् ।”
अबको बाटो
विष्णुमान साउन २९ गते न्युयोर्क फर्किए ।
भूकम्प अघिसम्म प्रत्यक्ष रुपमा नेपालको परिवारको जिम्मेवारी विष्णुमान प्रधानको काँधमा थिएन तर अहिले भने परिस्थिति फेरिएको छ ।
न्युयोर्कमा आफ्नी श्रीमती र छोराको जिम्मेवारी त छँदैछ,अब उनले नेपालमा आफ्नो बुवा, भाउजु र उनका दुई– ५ वर्षीया र ११ वर्षिया छोरीहरुलाई पनि सम्हाल्नु पर्छ । न्युयोर्क फर्कनु केहि समयअघि उनले काठमाडौंमै एउटा फल्याटमा उनीहरुको व्यवस्थापन गरेका थिए ।
“म यो परिस्थितीलाई कसरी सम्हाल्ने भनेर घोत्लिरहेको छु” विष्णुमानले भने ।

न्युयोर्कको ज्याक्सन हाइट्समा रहेको ट्राभल हाउस नेपालमा काम गरिरहेका विष्णुमानले पछिल्लो समय न्युयोर्कमा रहेका नेपाली समुदायबाट केहि सहयोग पनि प्राप्त गरेको जानकारी दिए । त्यस्तै, गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अमेरिकाबाट पनि उनलाई केहि सहयोग प्रदान गरिएको थियो ।
“आफूमाथि विपत्ति पर्नुअघि धेरैपटक प्राकृतिक प्रकोपमा परि मानिसहरुको मृत्युहरुको समाचारहरु सुनिन्थ्यो । ती परिवारहरुमा के बित्छ भन्ने कुरा मैले कहिले सोचेको थिइन तर अहिले बल्ल महसुस भयो कत्ति सम्म पीडा हुँदो रहेछ भनेर,” भावुक हुदै विष्णुमानले भने ।
उता श्रुति भन्दै थिइन्– “यस भुकम्पले के धनी के गरिब सबैलाई छोयो । मेरो विचारमा यसले सबैलाई मिलेर अघि बढ्नुपर्छ भनेर एउटा पाठ पनि सिकाएको छ । ”
नेपाल सरकारका अनुसार (www.drrportal.gov.np) भूकम्पमा परि ८,७१२ जनाले ज्यान गुमाएका थिए भने २२,२२० जना घाइते भएका थिए ।
यो फिचर स्टोरी अमेरिकी अनलाइन मिडिया Voicesofny.org को गत वर्षको टप टेन स्टोरीमा पर्न सफल भएको फिचर हो ।
भिडियो अन्तरवार्ताका लागि यहां क्लिक गर्नुहोस् ।















प्रतिक्रिया