३१ आश्विन २०८३, शनिबार

निर्माणको तीन वर्षपछि पुल उद्घाटन !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

pakki-pulकास्की, ४ माघ । कास्कीको लेखनाथ र रुपाकोट गाविस जोड्ने पक्की पुल निर्माण सम्पन्न भएको तीन वर्षपछि उद्घाटन गरिएको छ ।

मुख्य सचिव डा सोमलाल सुवेदीले पुलको उद्घाटन गर्नुभएको हो । पुल निर्माण सम्पन्न भएको तीन वर्ष भए पनि अहिलेसम्म उद्घाटन भएको थिएन ।

कास्की थुम्कीकै सुवेदी नेपाल सरकारका सचिव पदमा कार्यरत हुँदा निर्माण सम्पन्न भए पनि मुख्य सचिवमा बढुवा भएपछि मात्रै उद्घाटन गरिएको हो ।

विसं २०६७ असार २५ गतेदेखि निर्माण सुरु भएको पुल २०६९ साल असोज १९ गते निर्माण कार्य सम्पन्न भएको थियो । करिब २१ मिटर लामो मोटरेवल पुल रु एक करोड ५५ लाखमा निर्माण गरिएको जिल्ला प्राविधिक कार्यालय कास्कीका प्रमुख इञ्जिनियर नारायणप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । यो पुल सातमुहाने–रुपाकोट–थुम्की सडकखण्डमा पर्छ ।

पुल निर्माण भएपछि रुपाकोट, थुम्की तथा लमजुङको भोर्लेटारदेखि बेँसीसहरसम्मका उपभोक्ताले सुविधा लिएका छन् ।

पुल उद्घाटनपछि बोल्दै मुख्य सचिव डा सुवेदीले विकासका काममा राजनीति नगर्न सबैसँग आग्रह गर्नुभयो ।

केही समयअघिसम्म रुपाकोट थुम्की भनेर मानिसले नाक खुम्च्याउने गरेको स्मरण गर्दै उहाँले अहिले तिनीहरुले नै आफ्नै ठानेर विकासका योजनामा साथ दिन थालेका बताउनुभयो ।

उहाँले लेखनाथको पचभैयामा बन्न लागेको प्राकृतिक चिडियाखाना निर्माणका लागि पनि आफ्नोतर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । रासस