
काठमाडौं, ३ माघ । दिल्लीमा उपचार गरेर दुई सातापछि काठमाडौं फर्किएका सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोलाई राजधानीमा युवाहरुले कालोझण्डा देखाउँदै प्रदर्शन गरेका छन् ।
महतो दिउँसो १ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिनेवित्तिकै एयरपोर्ट गेटमा युवाहरुले कालोझण्डा र भारतीय दलाल मुर्दावाद भन्दै प्रदर्शन गरेका थिए ।

एमाले निकट युवा संघ नेपालका महासचिव किरण पौडेल र प्रचार विभाग प्रमुख सञ्जीव रोकाको अगुवाईमा राजधानीमा दुई सय युवाहरुले महतोविरुद्ध प्रदर्शन गरेका हुन् ।
युवाहरुको प्रदर्शनका कारण महतो विमानस्थलबाट एक घण्टापछि मात्रै बाहिरिएका थिए । युवाहरुले महतोको अगाडि ‘भारतीय दलाल मुर्दावाद, राष्ट्रिय एकता जिन्दावाद, राष्ट्रिय अखण्डता कायम गरौं, विखण्डनकारी होसियार’ जस्ता नारा लगाएका थिए ।

युवाहरुको प्रदर्शनले महतोलाई स्वागत गर्न फूलमाला बोकेर विमानस्थल आइपुगेका मधेसी मोर्चाका २०/३० जना कार्यकर्ता टाप कसेका थिए । कडा सुरक्षाका बीच महतोलाई प्रहरीले गेटबाट गन्तव्यतिर लगेको थियो ।
प्रदर्शनपछि युवा संघका महासचिव किरण पौडेलले सम्बोधन गर्दै महतोलाई मधेस र नाकाबन्दी खोल्न आग्रह गर्दै तत्काल राष्ट्रिय सहमतिमा आउनुपर्ने बताए ।

विराटनगर–जोगबनी नाकामा प्रहरी र मधेसी मोर्चाका कार्यकर्ताबीच भएको झडपमा परी घाइते भएपछि महतो दुई साताअघि उपचारका लागि दिल्ली गएका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीले फोन गरेर वार्ता बोलाएपछि महतो आइतबार काठमाडौं उत्रिएका हुन् ।
















प्रतिक्रिया