काठमाडौं, ३० पुस । प्रहरीले तस्करीको साढे नौ किलो सुनसहित दुई सुन व्यापारीलार्ई पक्राउ गरेपछि काठमाडौंमा अझैपनि अवैध सुनको कारोबार फस्टाइरहेको देखिएको छ ।
यो घटनापछि तस्करीमा संलग्न ठूला सुन व्यापारीको खोजीमा महानगरिय प्रहरी अपराध महाशाखा पुगेको छ ।
न्यूरोड भूगोल पार्कस्थित भाग्य लक्ष्मी ज्वैलर्सका सञ्चालकद्धय बिक्रम मित्तल र विवेक मित्तललाई प्रहरीले गत साता पक्राउ गर्दा उनीहरुको साथबाट ९ किलो ५ सय ८ ग्राम सुन भेटिएको थियो । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।
सुन तस्करीमा सहयोग गर्ने भागिरथ चौधरीलाई पनि प्रहरीले पक्राउ गरेको छ । उनीहरु तीनै जना भारतीय नागरिक हुन् ।
उनीहरुले एक चिनिया तस्करबाट उत्तरी नाका हुँदै उक्त सुन तस्करी गरेको खुलेको छ । एक किलोको ४३ लाख ८० हजार रुपैयाँमा खरिद गरी, किलोमा ५ लाख भन्दा धेरै नाफा खाने गरेको खुलेको छ ।
मामा नाम गरेका एक चिनियाँमार्फत उनीहरुले सुन किनेको प्रहरीलाई बताएका थिए । कलंकीसम्म उनीहरुले ल्याइदिने र त्यहाँबाट सुन ल्याएर बेच्ने गरेको उनीहरुले बताएका छन् । तर, चिनियाँ समूहलाई भने प्रहरीले पक्राउ गर्न सकेको छैन । उनीहरुले तातोपानी नाका हुँदै सुन तस्करी गरेको बताएका छन् ।
दार्जिलिड घर भएका मित्तल दाजुभाई लामो समयदेखि नेपालमा सुन तस्करी र हुण्डीको कारोबारमा संलग्न रहदै आएको प्रहरीले जनाएको छ ।
तस्करी गरी ल्याइएको सुनको पैसा उनीहरुले हुण्डीमार्फत चीन पठाउने गरेका थिए । महाशाखाले पक्राउ परेकाहरुलाई संगठित अपराध मुद्दामा पनि कारबाही थालेको छ ।
यसअघि पनि एकपटक प्रहरीले सुन तस्करहरुलाई संगठित अपराध मुद्दामा अनुसन्धान गरी प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएकोमा सरकारी वकिल कार्यालयले मुद्दा नचलाई छाडिदिएको थियो । त्यस विषयमा संसदको राज्यव्यवस्था समितिले समेत अनुसन्धान गर्दै आएको छ ।
तीन वा सो भन्दा धेरै व्यक्ति मिलेर कुनै अपराध गरेमा संगठित अपराध मुद्दा चल्दछ । जसअनुसार सजाय ५० प्रतिशत थप हुन्छ । राजश्व छली मुद्दामा कारबाहीसँगै उनीहरुलाई प्रहरीले समेत मुद्दा चलाउने छ ।
नेपालमा लामो समयदेखि चीनबाट सुन तस्करी हुदै आएको छ । रसुवा र तातोपानी नाकाबाट भरियाहरुलाई प्रयोग गरी सुन तस्करी हुदै आएको छ ।
ठूला सुन पसलेहरुले समेत तस्करीको सुन बिक्रि गर्दै आएका छन् । पहिला भरियाहरु मात्र पक्राउ परेकोमा पछिल्लो समय मुख्य तस्करहरु समेत पक्राउ पर्दै आएका छन् ।
त्यसैगरी विमानस्थलबाट पनि सुन तस्करी हुँदै आएको छ । विमानस्थलका सुरक्षा प्रमुख डिआईजी विजयलाल कायस्थले नै सुन तस्करीमा संलग्नहरुलाई संरक्षण दिएपछि विमानस्थलमा केही समय अघिदेखि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टोली नै खटाएर निगरानी बढाएको छ ।
सुनको अबैध कारोबारमा शंकास्पद व्यापारी दिपक मल्होत्रा र खासाको व्यापार गर्ने अधिकांश ठूला व्यापारीहरु संलग्न हुँदै आएका छन् ।
त्यस्तै प्रहरीले हुण्डी कारोबारमा संलग्नको पनि खोजीकार्य शुरु गरेको छ । महाशाखाले हुण्डी कारोबारमा संलग्नहरुलाई पनि पक्राउ गरेको छ ।
२४ लाख ९५ हजार ५ सय रुपैयासहित भारतीय नागरिक सत्यनारायण अग्रवाल र काभ्रेका सरोज पराजुलीलाई पक्राउ गरेको हो ।
अग्रवाललाई ११ लाख २५ हजार र पराजुलीलाई १७ लाख ७० हजार ५ सय सहित पक्राउ गरेको छ ।
रसुवाका कार्साड छेकी तामाडलाई पनि प्रहरीले अवैध बिदेशी मुद्रासहित पक्राउ गरेको छ । एक हजार ९ सय १० हङकङ डलर, एक सय पाउण्ड स्टर्लिड, एक सय ९८ चाइनिज युवानसहित पक्राउ गरेको हो । सुन तस्करहरुमाथि अनुसन्धान गर्ने क्रममा उनीहरु पक्राउ परेका हुन् ।















प्रतिक्रिया