काठमाडौं, ३० पुस । नेपाली कांग्रेसको महाधिवेशन फेरि स्थगित हुने हो कि भनेर चर्चा सुरू हुन थालेको छ ।
पार्टी सभापति सुशील कोइराला र उनको गुटका केही नेताहरूले सकिन्छ भने १३औँ महाधिवेशन स्थगित गर्ने दुलो खोजी रहेका छन् । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ । फागुनको २०देखि २३ गतेसम्म कांग्रेसको महाधिवेशन काठमाडौंमा गर्ने तिथी तय भइसकेको छ ।
वरिष्ठ नेता शेरबहादुर देउवा समूहले सभापति कोइरालालाई पेलेरै जान खोजेपछि संस्थापन समूह महाधिवेशन स्थगित गर्ने दुलो खोज्न थालेको हो ।
विशेष गरेर कोइरालाको किचन क्याबिनेट भनेर चिनिने नरहरि आचार्य, महेश आचार्य, मीनेन्द्र रिजाल, दिलेन्द्र बडू, आनन्दप्रसाद ढुङ्गानासहितको समूहले कोइरालालाई महाधिवेशन सार्न कानुनी बाटो खोज्न सुल्लाह दिने गरेको बुझिएको छ ।
संवैधानिक व्यवस्थाअनुसार कांग्रेसले फागुनमहिनाभित्र महाधिवेशन गराइसक्नुपर्ने हुन्छ । अन्यथा उसको संवैधानिक र कानुनी विषयमा प्रश्न उठ्नेछ । त्यति मात्रै होइन कांग्रेसले तोकिएको समयमा १३औँ महाधिवेशन गरेन भने चुनाव चिन्ह ‘रुख’समेत खोसिने अवस्था आउन सक्छ ।
नयाँ संविधानअनुसार कांग्रेसले अरु एक वर्ष महाधिवेशन सार्न सक्ने कानुनका जानकारहरूले बताएका छन् । अधिवक्ता शेरबहादुर केसीले नयाँ संविधानको व्यवस्थाअनुसार कांग्रेसले आफ्नो कार्यकाल अरु एक वर्ष थप्न सक्ने बताए ।
पुरानो अड्डामा देउवाको चहलपहल
सभापति कोइराला निकट नेता तथा कार्यकर्ता तान्ने दौडमा लागेका वरिष्ठ नेता शेरबहादुर देउवाले नयाँबानेश्वरस्थित प्रजातान्त्रिक कांग्रेसको पुरानो कार्यालयमा अड्डा जमाएर बसेका छन् । देउवाले दैनिक सरह सोही अड्डाबाट नेता तथा कार्यकर्ता भेट्नुका साथै आफ्नो पक्षमा माहोल बनाउने गरेको एक केन्द्रीय सदस्यले बताए । देउवाले कोइराला निकट केन्द्रीय सदस्यका साथै पदाधिकारीलाई आफ्नो पक्षमा तान्ने कोशिस गरेको बताइन्छ ।
नेता देउवाको अवस्था अहिले पनि कमजोर रहेको उनी निकटका नेताहरूले बताउने गरेका छन् । देउवा सूदुरपश्चिमका जिल्लामा केही बलियो अवस्थामा छन् । तर बाँकेदेखि पूर्व सभापति कोइराला नै बलियो रहेको दुबै पक्षका नेताहरूको भनाइ छ ।
देउवा समूह, कोइरालाको विरुद्ध प्रचारवाजीमा
देउवा समूह सभापति कोइरालालाई बद्नाम गर्न पेटिकोट फुकालेर लागेको छ । देउवा समूहले आफू निकटका पत्रकारहरूलाई आजकाल नयाँबानेश्वरतिरका रेष्टरेन्टहरूमा बोलाइएर रक्सी र सेकुवा खुवान सुरू गरिसकेको छ । ती पत्रकारहरूले कोइरालाका विरुद्ध नकारात्मक प्रचार गर्ने र देउवाका पक्षमा लविङ गरेर समाचार लेख्ने गरेको आरोप लागेको छ ।
तराईमा समस्या
महाधिवेशन निजिकिए पनि कांग्रेसका सांसद र नेताहरू तराईका जिल्ला जाने अवस्था नरहेको जनाइएको छ । मधेसी मोर्चाका साथै सीके राउत र गोइत समूहले कांग्रेसका नेताहरूलाई निशासाना बनाउन थालेपछि कांग्रेसलाई तराईका जिल्लामा महाधिवेशन गर्न कठिनाइ भएको छ । स्रोतका अनुसार एक मात्रै बिकल्प भनेको महाधिवेशन रोकेर सहज अवस्था भएपछि महाधिवेशन गर्न पनि मधेसी नेताहरूले दबाव दिन थालेको बुझिएको छ ।















प्रतिक्रिया