६ कार्तिक २०८३, शुक्रबार

बलबहादुर र डोल्पा सभापतिले अनशन तोडे, सोलु सभापति आङगेलुको जारी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepali Congress CNकाठमाडौं, २९ पुस । कांग्रेस पदाधिकारीको सोमबार बसेको बैठकले रौतहट, कैलाली, सोलुखुम्बुको नयाँ क्रियाशील सदस्यता १३औँ महाधिवेशनका लागि खारेज गरे पनि केन्द्रीय कार्यालय सानेपामा अझै तीन जिल्लाका समूह अनशन बसेका छन् ।

पदाधिकारी बैठकको निर्णयका आधारमा सदस्यता खारेज गरिएपछि देउवा पक्षका जिल्ला सभापतिहरूले अनशन जारी राखेको समाचार नयाँ पत्रिका दैनिकले छापेको छ ।

समान व्यवहार गर्न आवश्यक भएको भन्दै सोमबार पदाधिकारी बैठकले सोलुखुम्बु जिल्लाका सबै गाविसमा १२औँ महाधिवेशनका क्रियाशील सदस्यहरूको नवीकरण दस्तुर केन्द्रमा बुझाउनेलाई तेह्रौँ महाधिवेशनमा भाग लिन पाउने र नयाँ क्रियाशीलतर्फका सबै नामावली तेह्रौँ महाधिवेशनका लागि स्थगन गर्ने निर्णय गरेको थियो ।

सो निर्णयपछि बलबहादुर केसीसहितको समूहले अनशन टुंग्याएको छ । तर, सभापति आङगेलु शेर्पा समूहको अनशन जारी छ ।

त्यस्तै, कैलाली जिल्लामा सबै नयाँ क्रियाशील सदस्यता तेह्रौँ महाधिवेशनसम्मका लागि स्थगन गरी नवीकरण सूची मात्र लागू हुने निर्णय पदाधिकारी बैठकले गरेपछि एक समूहले अनशन टुंग्याए पनि अर्को समूहले जारी राखेको छ ।

रौतहटको १, २, ३ र ४ नम्बर क्षेत्रका पुराना क्रियाशील सदस्यको तेह्रौँ महाधिवेशनका लागि नवीकरण सूची मात्र लागू हुने, तर नयाँलाई भाग लिन नदिने निर्णय गरेको थियो ।

यो जिल्लामा दुई क्षेत्रका नयाँलाई भाग लिन दिइएको छ । तर, अर्को समूहले अझै अनशन जारी राखेको छ । विधि र प्रक्रिया पुगेको भन्दै यस्तो सदस्यतालाई महाविधेशनमा भाग लिन दिन पाउनुपर्ने उनीहरूको माग छ ।

त्यस्तै, डोल्पाको हकमा छानबिन समितिको निर्णय कायम राखी सबै गाविसमा संगठन विस्तार हुने गरी जिल्ला कार्यसमितिका सभापतिको सिफारिसमा थप एक सय क्रियाशील सदस्यता स्वीकृत गर्ने निर्णय पदाधिकारी बैठकले गरेपछि डोल्पा जिल्ला सभापति टंकप्रसाद उपाध्यायको आमरण अनशन टुंगिएको छ ।

देउवा पक्षको असन्तुष्टि कायमै

संस्थापनले एकलौटी गरेको भन्दै देउवा पक्षले असन्तुिष्ट कायमै राखेको छ । रौतहट, कैलाली र सोलुखुम्बुले विधि, प्रक्रिया पुगे पनि पदाधिकारी बैठकले सदस्यतालाई मान्यता नदिएको भन्दै देउवा समूह असन्तुष्ट बनेको हो ।

तीनै जिल्लाका सभापतिहरूले मंगलबार केन्द्रीय सदस्यहरूसँग छलफल गर्दै अन्याय भएकाले पदबाट राजीनामा गरी अनशनमा साथ दिन आग्रह गरेका छन् ।

‘हामीमाथि अन्याय भएको छ, तपाईंहरूले पनि केन्द्रीय सदस्यबाट राजीनामा दिएर सहयोग गर्नुस् भन्ने उहाँहरूको माग छ,’ उनीहरूको भनाइ उद्धृत गर्दै केन्द्रीय सदस्य मीन विश्वकर्माले भने ।

तर, राजीनामा उचित नहुने भन्दै देउवापक्षीय नेताले आगामी केन्द्रीय कार्यसमिति बैठकमा सदस्यताको यो विषय उठाउने र महाधिवेशनमा मुद्दा बनाउने आश्वासन दिएका थिए ।