भक्तपुर, २८ पुस । नेपाल विद्युत् प्राधिकरण भक्तपुर वितरण केन्द्रले आजदेखि विद्युत्भार कटौती गर्न एक महिने विद्युत् बचाऔं अभियान सुरु गरेको छ ।
उपभोक्तालाई जनचेतना अभिवृद्धि गर्ने र विद्युत्को कम प्रयोग गरी विद्युत् बचाउँदै विद्युत्भार कम गर्न सघाउ पुर्याउने उद्देश्यले एक महिने अभियान सुरु गरिएको हो । अभियानअन्तर्गत प्राधिकरणका कर्मचारीले महसुल तिर्न आउने ग्राहकलाई खपत कम गरी विद्युत् बचाउन अभिप्रेरित गर्ने र पर्चा दिने कार्य सुरु गरेको केन्द्रका प्रमुख विक्रम अमात्यले बताउनुभयो ।
लाइन आउनु अगाडि नै इन्भटर बन्द गर्ने र लाइन आएको आधा घण्टापछि मात्रै चालु गर्न सुझाउँदै कर्मचारीले लोडसेडिङपछि लाइन आउनु अगाडि नै हिटर, वाटर पम्प, राइस कुकर, फ्रिज, आइरन, एयर कन्डिसन, रुम हिटर, सोलार चार्जर जस्ता विद्युतीय सामाग्री बन्द गर्न अनुरोध गरेका छन् ।
त्यसैगरी बढी विद्युत् खपत हुने सामाग्री एकै पटक नचलाउन आग्रह गरेका छन् भने विद्युत् खपत कम गर्ने बत्तीको प्रयोग गर्न उपभोक्तालाई आग्रह गरेका छन् । उपभोक्ताले विद्युत् बचाउन सके विद्युत्भार कम हुने र अतिरिक्त समयमा ट्रान्समिटर पड्केर, फुयूज गएर हुने विद्युत् कटौती समेत कम हुने प्रमुख अमात्यले बताउनुभयो । रासस















प्रतिक्रिया