
भक्तपुर, २८ पुस । आर्थिक अवस्था कमजोर भएका बिरामीको बढ्दो चाप रहेको भक्तपुर अस्पतालमा दरबन्दीअनुसारको चिकित्सक नहुँदा समस्या आएको छ ।
सरकारले केन्द्रीय अस्पतालका रुपमा परिभाषित गरे पनि क्षेत्रीय अस्पतालसरहको सुविधासमेत नदिएको सो अस्पतालमा दरबन्दी अनुसारको चिकित्सक छैनन् । अस्पतालका सुपरिटेन्डेन्ट डा हरिबहादुर केसीका अनुसार अस्पतालमा हाल ११औँ तहका फिजिसियन र प्रसूति रोग विशेषज्ञ एक एक, नौ तहका छाला रोग तथा नाक, कान, घाँटी र मानसिक रोग विशेषज्ञ एक एक, दन्त रोग विशेषज्ञ एक, रेडियोलोजिस्ट एक, अर्थोपेडिक एवम् हाडजोर्नी एक र सातौँ तहका दुई नर्सको दरबन्दी रिक्त छ ।
बिरामीको चाप बढेपछि अस्पतालले पेइङ क्लिनिक र अस्पताल विकास समितिबाट नियुक्त भएको चिकित्सकबाट मुटु रोग र शल्यक्रिया सेवा सञ्चालन गरेको छ । रिक्त दरबन्दी पदपूर्ति भएमा भक्तपुर र अन्य जिल्लाबाट आउने बिरामीलाई अन्य अस्पतालमा सिफारिस गर्नु नपर्ने सुपरिटेन्डेन्ट डा केसीले बताउनुभयो ।
अस्पतालले डा धर्मेन्द्र सिंह र डा श्रीधर अर्यालबाट प्रत्येक सोमबार र बिहीबार सातामा दुई दिन पित्तथैली र मिर्गौला, एपेन्डिसाइट, हर्निया, पाइल्स, प्रोस्टेजलगायत विभिन्न रोगको शल्यक्रिया गर्न थालेपछि बिरामीको चाप बढेको हो । अस्पतालका प्रशासन प्रमुख विश्वप्रसाद न्यौपानेले निजी अस्पतालमा रु १५ देखि रु ५० हजारसम्म खर्च लाग्ने शल्यक्रिया सेवा भक्तपुर अस्पतालले रु एक हजारदेखि रु सात हजारसम्ममा दिएको छ ।
अस्पतालले प्रसूति सेवालाई अझै चुस्त बनाउँदै सिएस अर्थात् पेट चिरेर तथा पाठेघरमा भ्रुण नबसी नलीमा रहेको अवस्थामा जोखिम अवस्थाको शल्यक्रिया गरेर नवजात निकाल्ने सेवा सञ्चालन गरेपछि प्रसूति सेवामा समेत चाप बढेको छ । अस्पतालमा अल्ट्रासाउन्ड, प्रयोगशाला, एक्स–रे, अल्ट्रासाउन्ड, इन्डोस्कोपी लगायत सेवा थप भएपछि निजी अस्पतालमा जाने बिरामी समेत भक्तपुर अस्पतालमा आउन थालेका छन् ।
अस्पतालमा जनशक्तिको अभाव, अस्पताल एवम् आवास भवन जीर्ण हुनु, सघन कक्षको व्यवस्था नहुनु लगायत समस्या छ । अस्पताल विकास समितिका अध्यक्ष नवराज गेलालले सरकारले केन्द्रीय अस्पताल भने पनि त्यस अनुसारको सेवासुविधा नदिँदा अस्पताल सञ्चालनमा कठिनाइ भएको बताउनुभयो ।
उहाँले समितिले निर्णय गरेर भक्तपुर अस्पताल हालको ७५ श्ययाबाट १०० श्ययामा विस्तार गर्नुपर्ने, तत्काल सघन कक्षको व्यवस्था गर्नुपर्ने, दरबन्दी अनुसारको चिकित्सक पठाउनुपर्ने र अस्पतालको नयाँ भवन निर्माणका लागि बजेटको व्यवस्था गर्नुपर्ने माग गर्नुभयो ।
अस्पतालमा साउनदेखि मङ्सिरसम्ममा आकस्मिकमा पाँच हजार ९७४ र बहिरङ्गमा २२ हजार ९९८ बिरामीले सेवा लिएका छन् । सो अवधिमा एक हजार २१७ बिरामीको भर्ना गराएर उपचार गरिएको छ भने ५४९ जनाले नवजात शिशु जन्माएका छन् । तीमध्ये ६४ महिलाको शल्यक्रिया गरेर शिशु निकालिएको थियो । रासस












प्रतिक्रिया