
भरतपुर, २८ पुस । चितवन समाज जापानले नेपाल पत्रकार महासंघ चितवन शाखालाई ल्यापटपसहित फोटोकपी, फ्याक्स, स्क्यानर मेसिन र युपिएस सहयोग गरेको छ ।
सोमबार महासंघमा एक कार्यक्रमकाबीच चितवन समाज जापानका अध्यक्ष सरोज कँडेलले महासंघका अध्यक्ष हरिप्रसाद पोखरेललाई उक्त सञ्चारका साधन हस्तान्तरण गरे । महासंघमा निर्माधाधिन सूचना केन्द्रका लागि करिब एक लाख रुपैयाँको सो सामग्रीहरु सहयोग गरिएको हो ।
समाजका अध्यक्ष कँडेलले पत्रकारहरुलाई सूचना आदानप्रदान गर्न सहयोग पु¥याउने उद्देश्यले सहयोग गरिएको जानकारी दिए । चितवन जिल्लाबाट जापानमा विभिन्न उद्देश्यले रोजगार र अध्ययनका लागि पुगेका नेपालीहरुको संगठित संस्थाको रुपमा चितवन समाज जापान रहेको छ ।
महासंघले गएको चैत १६ गते आफ्नोे ६० औँ स्थापना दिवसका अवसरमा शाखा कार्यालयमा सूचना केन्द्रसहितको पुस्तकालय स्थापना गर्ने घोषणा गरेको थियो । सुरुमा ‘एक सदस्य : एक पुस्तक’ अभियान सहित पुस्तकहरु संकलन गर्दै पुस्तकालय स्थापना गर्ने क्रममा हाल नागरिक समाजबाट पनि सूचना केन्द्रका लागि आवश्यक उपकरण सहयोग हुन थालेको हो ।
चितवन समाजले गरेको गरेको हस्तान्तरण कार्यक्रममा धन्यवाद व्यक्त गर्दै महासंघका अध्यक्ष हरिप्रसाद पोखरेलले अबका दिनमा सूचना केन्द्रलाई व्यवस्थित गर्नुपर्ने र सञ्चारकर्मीहरुले आफ्नो पेशागत क्षमता अभिवृद्धितर्फ यसलाई उपयोग गर्नुपर्ने बताए । पत्रकार महासंघको स्थापना दिवसका अवसरमा सुरु गरिएको सूचना केन्द्रका लागि आवश्यक सामग्रीहरुको संकलन अभियान अहिले पनि जारी छ ।
सूचना केन्द्रका लागि करिब १५ लाख रुपैयाँको लागतमा पुस्तक, कम्प्युटरलगायतका सञ्चारमाध्यमका साधनहरु जुटाउने तयारी महासंघको छ । महासंघको भवन निर्माणको काम हाल सम्पन्न भएको र यसलाई सूचना केन्द्रको रुपमा विकास गरिने पनि सो कार्यक्रममा पोखरेलले जानकारी गराए ।












प्रतिक्रिया