६ कार्तिक २०८३, शुक्रबार

किन बन्यो मधेस आन्दोलन मत्थर ?, दसगजामा आन्दोलनकारी ह्वात्तै घटे

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Birganja Bazarवीरगन्ज, २८ पुस । मधेस आन्दोलन एक सातायता मत्थर हुँदै गएको छ। पाँच महिनादेखि जारी मधेस आन्दोलनको केन्द्रबिन्दु बनेको वीरगन्जको जनजीवन पनि सहज बन्दै गएको छ ।

रक्सौल–वीरगन्ज नाकामा मधेसी दलको धर्ना र नाकाबन्दी जारी रहे पनि वीरगन्जका बजार र पसल खुल्न थालेका छन् । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।

पुस १९ गते संघीय मधेसी गठबन्धन र खुद्रा व्यापारी संघबीच भएको छलफलमा व्यापारीले बिहानदेखि दिउँसो दुई बजेसम्म बजार र पसल बन्द गर्ने लिखित सहमति गरेका थिए ।

सहमतिको दुई दिन बित्न नपाउँदै वीरगन्जका बजार र पसल बिहानदेखि बेलुकासम्म खुल्न थालेका छन् । आन्दोलनरत दलका नेता र कार्यकर्ताले कुनै बाधा गरेका छैनन् ।

मालवाहक ठूला सवारीसधान नचले पनि साना सवारीसाधन भने निर्बाध चलेका छन् । बन्द र हडताल सुरु भएदेखि बन्द भएका टाटासुमो र सिटिराइड बस एक सातादेखि सञ्चालनमा आएका छन् ।

वीरगन्ज–काठमाडौं रुटमा चल्ने टाटासुमो गाडीले धर्नास्थल नजिकैबाट यात्रु ओसार्दै आएका छन् । यस्तै सिटिराइड बस, स्कुल बस, टेम्पो, टाँगा, इरिक्सा, निजी कार, भ्यान, जिप र ट्याक्टर सञ्चालनमा आएका छन् ।

रातिको समयमा वीरगन्जबाट ट्रक र कन्टेनरले सामान ओसार्दै आएका छन् । सिर्सिया सुक्खा बन्दरगाहबाट पनि हरेक दिन दुई सय हाराहारीमा ट्रकले मालसामान गन्तव्यमा पुर्‍याइरहेका छन् ।

‘अब कति दिन बन्द गर्ने र ?’ माईस्थानका एक व्यापारीले भने, ‘बन्द र हडतालले हाम्रो लोटिया डुबिसक्यो। अब पसल बन्द गर्न सक्दिनँ।’

दसगजामा आन्दोलनकारी घट्दै

रक्सौल–वीरगन्ज नाकाको मितेरी पुलमा असोज ७ गतेदेखि जारी धर्नामा पनि आन्दोलनकारीको संख्या कम भएको छ। धर्नामा सुरुसुरुका दिनमा चारपाँच सय आन्दोलनकारी चौबीसै घन्टा बस्दै आएका थिए। तर केही दिनयता रातिको समयमा धर्नास्थलमा मुस्किलले २०/२५ जना मात्रै भेटिन्छन्।

‘ऊ बेला नेताहरू गाउँगाउँ पुगेर नाकामा धर्ना दिन जाऔं भन्दै गुहार्ने गरेकाले नाकामा बस्न आइयो’, सुरुकै दिनदेखि मितेरी पुलमा धर्नामा बसेका रामनगरीका वृद्ध विक्रम साह तेलीले भने, ‘अहिले रातको समयमा नेताको नाकमुख देख्न पाइँदैन। हामी नेताका लागि लडेका होइनौं। मधेसको माग पूरा नभएसम्म नाका छाड्दिनँ।’

नेता–कार्यकर्ता नै तस्करीमा लागेकाले आन्दोलन शिथिल बन्दै गएको दाबी वीरगन्ज भेडियाहीका रामबाबु सोनारले गरे । ‘आफैं आन्दोलन गर्ने अनि आफैं तस्करीमा लागेपछि जनता केका लागि आन्दोलनमा आउनेरुु उनले आक्रोश पोखे।

संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य राजकुमार यादवले मोर्चाका शीर्ष नेताको गतिविधिकै कारण मधेस आन्दोलन कमजोर भएको स्वीकारे ।