काठमाडौं, २८ पुस । नेपाल प्रहरीका शान्ति मिसनहरू धमाधम बन्द हुन थालेका छन् । द्वन्द्वग्रस्त देशहरूबाट क्रमशः फिर्ता हुन थालेपछि नेपाल प्रहरीको शान्ति मिसन संकटमा परेको छ ।
नेपाल प्रहरी खटिँदै आएको लाइबेरिया (अनमिल) मिसन बन्द भएको छ । हाइटी (मिनुस्टा) मिसन एक वर्षपछि बन्द हुँदै छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
त्यसबाहेक नेपाल प्रहरीसँग सुडान (अनमिड) र दक्षिण सुडान (अनमिस) मिसन मात्र बाँकी रहनेछन् । त्यसकारण थोरै मात्र प्रहरी अधिकारीले शान्ति मिसनमा जाने अवसर पाउनेछन् ।
नेपाल प्रहरीको संयुक्त राष्ट्र शाखाका एसएसपी श्याम खड्काका अनुसार लाइबेरिया मिसन लगभग बन्द भएको छ ।
अहिले त्यहाँ १२ जना प्रहरी कार्यरत छन् । उनीहरू फर्किएपछि नेपालबाट अरू प्रहरीको माग भएको छैन । त्यस्तै, क्यारेबियन देश हाइटीमा पनि यसपटक अन्तिम टोली कार्यरत छ ।
गत वर्ष नै ठूलो संख्यामा हाइटीमा प्रहरीको संख्या कटौती भए पनि चुनावका लागि भनेर हाल ३० जना कार्यरत छन् ।
तर, उनीहरू फर्किएपछि अरू प्रहरी अधिकारीले हाइटी मिसनमा जाने अवसर पाउनेछैनन् । हाइटीमा रहेको नेपाल प्रहरीको पुरानो फम्र्ड पुलिस युनिट (एफपियू) मिसन पनि करिब एक वर्षसम्म रहेछ ।
१२ पुसमा हाइटीमा नयाँ टोली जाँदै छ । त्यही टोली हाइटीको एफपियू मिसनमा जाने अन्तिम टोली हुने सम्भावना छ ।
नेपाल प्रहरीको हाइटी र डार्फरमा गरी दुईवटा एफपियू युनिट छ । दुवै एफपियू मिसनमा एक सय ४० जनाका दरले प्रहरीहरू कार्यरत छन् ।
एफपियूमा दुई सय ७९ जना र अनपोलमा ८१ गरी हाल शान्ति मिसनमा तीन सय ६० जना प्रहरी कार्यरत छन् । जबकि कुनै समय एकैपटक हजारभन्दा धेरैले अवकाश पाउने गर्दथे ।
नेपाल प्रहरीमा शान्ति मिसन एउटा महत्त्वपूर्ण र आकर्षक अवसर थियो । शान्ति मिसनको कमाइबाट हजारौँ प्रहरीले आफ्नो जीवन उकासेका थिए ।
तर, नेपाल प्रहरीले नयाँ मिसन पनि नपाउने र पुराना पनि बन्द हुने अवस्था आएपछि ‘ह्वाइट मनी’ कमाउने अवसर पनि कम हुँदै गएको छ ।















प्रतिक्रिया