काठमाडौं, २७ पुस । भूकम्प गएको नौ महिनापछि जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी अधिकृत र जवानहरू घरमा बस्ने भएका छन् ।
प्रहरी नायव महानिरीक्षक देवेन्द्र सुवेदीले जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकको भूकम्प प्रतिरोधी दुई भवनको आज एक समारोहबीच उद्घाटन गरेपछि उनीहरू घरमा बस्ने भएका हुन् ।
प्रहरी प्रधान कार्यालयको आर्थिक सहयोग तथा स्थानीय व्यवस्थापनमा र श्रमदानमा १६ लाख रुपियाँ लागतमा आवास भवनको निर्माण भएको हो ।
आवासलगायत भूकम्प प्रतिरोधी भवन र अन्य संरचना निर्माणका लागि जिल्ला विकास समिति तथा चौतारा नगरपालिकाको समेत आर्थिक सहयोग रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक विश्व अधिकारीले जानकारी दिए ।
जिल्लाका ३१ मध्ये २८ प्रहरी युनिटको भवन पूर्ण रुपमा क्षति भएकाले अधिकांश ठाउँमा अझैपनि टेन्टमै प्रहरी कार्यालय सञ्चालन भइरहेको छ ।
व्यारेकलगायत संरचना भूकम्पले नोक्सान पुगाएपछि जिल्लामा कार्यालय सञ्चालनका लागि संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) को आर्थिक सहयोगमा चार कोठे प्रिफाइभ भवन निर्माण भएको छ ।
प्रयाप्त भवन नहुँदा लामो समयदेखि कार्यालय सञ्चालनमा समस्या झेलिरहेको प्रहरीलाई प्रिफाइभ भवन निर्माणले सहयोग पुगाएकोे प्रनाउ अधिकारीले बताए ।
उद्घाटनपछि सर्वसाधारणलाई दिने सेवा सुविधामा चुस्त पार्दै सबै नागरिकले न्यायमा पहुँच पुगेको अनुभूत गर्नसक्ने वातावरण निर्माण गर्न निर्देशन दिए ।
उद्घाटन कार्यक्रममा पुर्वसांसद सुभाष कर्माचार्य, स्थानीय विकास अधिकारी कृष्णबहादुर शाही, निमित्त प्रमुख जिल्ला अधिकारी भरत आचार्य, नेपाली कांग्रेसका जिल्ला सदस्य टंक कार्की, नेपाल पत्रकार महासंघ, सिन्धुपाल्चोकका अध्यक्ष युवराज पुरीलगायतले प्रहरीको भूमिकाको विषयमा आफ्नो धारणा राखेका थिए ।












प्रतिक्रिया