
काठमाडौँ, २७ पुस । राष्ट्रपति विद्यादेवी भण्डारी नेपाल बाल सङ्गठन बालमन्दिर नक्साल जानुभई त्यहाँ संरक्षणमा रहेका बालबालिका तथा भूकम्पबाट क्षतिग्रस्त बालमन्दिर भवनको आज जानकारी लिनुभयो ।
सो अवसरमा उहाँले संरक्षणविहीन रही बालमन्दिरको संरक्षणमा रहेका तीन वर्षमाथि तथा पाँच वर्षमुनिका ३५ तथा नौजना अपाङ्ग बालिकासँग भलाकुसारी गरी उनीहरुलाई बिस्कुट, चकलेट तथा मिठाइ प्रदान गर्नुभएको थियो । बालबालिकाले आफूलाई मन पर्ने खानेकुरा पाएर औधी रमाएका देखिन्थे ।
उनीहरुले नमस्कार नमस्कार भन्दै आफ्नो बालसुलभ प्रतिभा प्रस्फूटन गराएका थिए । साथै, तीन वर्षमुनिका २२ दूधे बालबालिकलाई चिसोबाट जोगिन ब्ल्याङ्केट तथा बालमैत्रीयुक्त खाद्य सामग्रीसमेत वितरण गर्नुभएको थियो । गत वैशाखमा गएको भूकम्पले बालमन्दिरको मूल भवनपूर्ण रुपमा क्षति भएपछि अहिले बालबालिकालाई प्रि–प्mयाभ कोठामा राखिएको छ ।
ती प्रि–प्mयाभ कोठा पनि सोही मन्दिरमा आश्रित रही निस्केका युवाले सक्रियतामा स्थापना गरेको क्रियटिभ नेपाल नामक संस्थाको पहलमा निर्माण भएका हुन् । भूकम्पले बालमन्दिरअन्तर्गत रहेका बाल संरक्षण गृह नक्साल, सिफल, भीमफेदी लगायतका भवनलाई पूर्ण क्षति बनाइदिएको थियो । भवनमा क्षति पुगे तापनि बालबालिकालाई असर पुगेको थिएन ।
राष्ट्रपति भण्डारीलाई उपप्रधानमन्त्री तथा महिला, बालबालिका तथा समाज कल्याणमन्त्री सिपी मैनाली, सोही मन्त्रालयका सचिव मधुप्रसाद रेग्मी, नेपाल बाल सङ्गठनका अध्यक्ष रीता वैद्य तथा महासचिव सुरेश दाहाललगायतले स्वागत गर्नुभएको थियो ।
संरक्षणविहीन बालबालिकालाई संरक्षण दिने बालमन्दिर अहिले चरम आर्थिक अभावमा पुगेको छ । महासचिव दाहालले सो अवसरमा राष्ट्रपति भण्डारीलाई सङ्गठनका बारेमा जानकारी दिँदै आर्थिक अभावका कारण संस्था चलाउन अप्ठ्यारो परेको बताउनुभयो ।
हाल ७५ जिल्लामा बालमन्दिर रहेका छन् । संस्थाले आमा तथ बाबु दुबै गुमाएका, द्वन्द्व प्रभावित, मानसिक तथा शारीरिक रुपले अशक्त, आमा, बाबु दुबै जेलमा रहेका, आमाबाबुले स्वेच्छिक रुपमा परित्याग गरेका, बालबालिका खोजतलास केन्द्रबाट सिफारिसमा आएका बालबालिकालाई उसले संरक्षकत्व प्रदान गरी १६ वर्षसम्म शिक्षादीक्षा दिने काम गरिरहेको छ ।
हाल संस्थाअन्तर्गत यस्ता २९८ बालबालिकालाई संरक्षणमा रहेका छन् । अनाथ बालबालिकालाई संरक्षकत्व दिन तत्कालीन राष्ट्रिय निर्देशन ऐन, २०१८ अन्तर्गत रही २०२१ भदौ ४ गते बालमन्दिरको स्थापना भएको थियो ।
सो अवसरमा नेपाल बालसङ्गठनका अध्यक्ष वैद्यले राष्ट्रपति भण्डारी तथा उपप्रधानमन्त्री मैनालीलाई मन्दिरको भवन अङ्कित तस्बिर उपहारस्वरुप प्रदान गर्नुभएको थियो । रासस












प्रतिक्रिया